विराटनगर : नेकपा एमालेको जनवर्गीय सङ्गठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङको अध्यक्षमा किशोर विश्वकर्मा चयन भएका छन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज विनोद ढकालको प्रमुख आतिथ्ययतामा बेलबारीमा सम्पन्न जिल्ला भेलाले विश्वकर्मालाई मुक्ति समाज मोरङको अधिवेशन आयोजक कमिटीको अध्यक्ष चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा कटहरी गाउँपालिकाकी सुमनकुमारी सरदार, सचिवमा विराटनगरका विनोद चहार, सहसचिवमा कानेपोखरीकी दुर्गा नेपाली र कोषाध्यक्षमा विराटनगरकै रत्न परियार चयन भएका छन् । ११७ सदस्यीय कमिटीले आगामी माघ मसान्त भित्रमा जिल्ला अधिवेशन गर्ने अध्यक्ष विश्वकर्माले जानकारी दिए ।

त्यस्तै कमिटीको सदस्यहरूमा केदार नेपाली, टिका विश्वकर्मा, जानुका बराइली, पवित्रा बराइली, पवित्रा विश्वकर्मा, मञ्जिला कार्कीढोली, फूलचन्द पासवान, योगेन्द्र शिवा, शम्भु हिंगमाङ लगायत रहेका छन् ।

भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज विनोद ढकालले मुक्ति समाजले आम दलित समुदायको अगुवाइ गर्दै सो समुदायका सवालहरूलाई शसक्तरुपमा उठाउँदै आएको बताए ।

नेता ढकालले देश र जनताका लागि नेकपा एमालेसँग मात्र स्पष्ट योजना रहेकाले आगामी तिनै तहको निर्वाचनमा अत्यधिक मतसहित विजयी गराउनुपर्ने बताए । उनले निर्वाचनमा एक्लै लड्ने तागत कुनै दलसँग नरहेकाले एमाले विरोधी दलहरू गठबन्धन भन्दै हिँडिरहेको बताए ।

कमिटीका पदाधिकारी तथा सदस्यहरूको घोषणा मुक्ति समाज मोरङका इन्चार्ज जितनारायण सरदारले गरेका थिए । कार्यक्रममा राष्ट्रियसभाका पूर्व सांसद तथा मुक्ति समाज प्रदेश १ इन्चार्ज खेम नेपालीले कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई शपथग्रहण गराएका थिए ।

कार्यक्रममा, संविधानसभा सदस्य मधु गुरुङ, नेकपा एमाले प्रदेश कमिटी सदस्य डिबी राई, बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुली, मुक्ति समाजका केन्द्रीय सदस्य तथा मोरङ सह इन्चार्ज भद्रमान विश्वकर्मा, केन्द्रीय सदस्य गीता शिवा, प्रदेश कमिटीका सदस्यहरू र जिल्लाभरका सयौँ दलित अगुवाहरूको उपस्थिति थियो ।