धरान : किरात राई यायोक्खा सुनसरीले किरात नया वर्ष यलम्बर सम्वत् ५०८२ को अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ ।

किरात राई यायोक्खा सुनसरीले आज धरानमा पत्रकार सम्मेलनको आयोजना गरी यही पुस २१ गते डिपो माध्यमिक विद्यालयमा महिला बास्केटबल प्रतियोगिता, पुस २३ गते किरात राई यायोक्खा सुनसरी र नेपाल पत्रकार महासङ्घ सुनसरीबिच फुटसल प्रतियोगिता, पुस २५ देखि २७ गते सम्म घर घरमा झन्डा राख्ने कार्यक्रम, पुस २८ गते देखि माघ १ गते सम्म दीप प्रज्वलन सुनसरी जिल्लाभर घर घरमा गर्ने, पुस २९ गते यलम्वर सम्बतको प्रचारात्मक ८२ वटा बेलुन उडाउने र पुष ३० गते धरानको भानुचौकमा यलम्वर साँझ ५०८२ कार्यक्रम हुने जानकारी दिइएको छ ।

यलम्वर साँझ कार्यक्रमको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले गर्ने किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले पत्रकार सम्मेलनमा जानकारी दिए । यलम्वर साँझ दिउसो २ बजेबाट सुरु हुनेछ भने यलम्वर साँझको पहिलो सत्रमा किरात राज्य किन ? र यलम्वर सम्वत् ५०८२ को बारेमा राजन मुकारुङ लगायतले कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ ।

साँझ हुने यलम्बर साँझ ५०८२ मा सांस्कृतिक कार्यक्रम हुनेछ । जसमा गायिका मलिना राई, विल्सन विक्रम राई (तोक्मे बुढा) किरात राई सांस्कृतिक कलाकार सङ्घका कलाकारहरूको साङ्गीतिक प्रस्तुति हुने पत्रकार सम्मेलनमा किरात राई यायोक्खा सुनसरीका सचिव नवीन राईले जानकारी दिए ।

सप्ताहव्यापी यलम्वर साँझ कार्यक्रम सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरू गठन गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।