धरान : मोरङ र झापाबाट ब्राउनसुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको दमक नगरपालिका-९ बाट ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहार जिल्ला किसनगंज नबावगंज घर भई हाल झापाको दमक नगरपालिका–४ मा डेरा गरी बस्दै आएका ३४ वर्षीय मोहम्मद इस्ताका रहेका छन् ।

हिजो दिउँसो १ बजे इलाका प्रहरी दमकबाट खटिएको प्रहरी टोलीले इस्ताकालाई शङ्का लागि चेक जाँच गर्दा निजले लगाएको जिन्स पेन्टको गोजीमा २ ग्राम ब्राउन सुगर, नगद २ हजार ५ सय रुपैयाँ र १ थान मोबाइल फेला परेको हो ।

प्रतिबन्धित लागु औषध ब्राउन सुगर सहित पक्राउ परेका इस्ताकाको झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसै गरी मोरङको विराटनगर–१४ बाट ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरी इटहरी उप–महानगरपालिका–९ का २२ वर्षीय निसान चौधरी र इटहरी–१२ का २८ वर्षीय दिवस तामाङ रहेका छन् ।

हिजो राती ९ बजे सी.आर.भि. जतुवाबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०२–०४६ प ११८७ नम्बरको मोटरसाइकल चेक जाँच गर्ने क्रममा मोटर साइकल पछाडि सवार रहेका निसान चौधरीले ज्याकेटको गोजीमा लुकाई राखेको अवस्थामा ३ ग्राम ७ मिलिग्राम खैरो हिरोइन फेला परेको हो ।

खैरो हिरोइन फेला परे सँगै मोटर साइकल चलाक दिवस तामाङ सहित दुवै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।