धनकुटा : प्रदेश १ को प्रमुख पर्यटकीय स्थल धनकुटाको भेडेटारमा तीन दिने नवौँ भेडेटार फुड फेष्टिवल आज देखि सुरु भएको छ ।

होटल एसोसिएसन भेडेटारको आयोजनामा फेष्टिवल सुरु भएको हो। फेष्टिवलको उद्घाटन प्रदेश १ का भौतिक योजना तथा पूर्वाधार मन्त्री हिमाल कार्कीले गरेका छन् । उनले उद्घाटन समारोहलाई सम्बोधन गर्दै भेडेटारको विकासको लागि प्रदेश सरकार सधैँ तयार रहेको बताए ।

हरदम चिसो मौसम रहने धनकुटा देखि ३५ किलोमिटर दक्षिण तथा धरान देखि करिब १७ किलोमिटर उत्तरमा अवस्थित भेडेटार पूर्वकै प्रमुख पर्यटकीय गन्तव्यमा पर्छ। भेडेटारमा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फेष्टिवल आयोजना गरिएको अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए ।

Bhedetar-Mahotsab-1

उनका अनुसार भेडेटार आउने विदेशी पर्यटकहरूमा सबै भन्दा धेरै भारतीय हुन्छन्। नयाँ वर्षमा भारतीयहरूको बिदा हुने भएकोले उनीहरूलाई पूर्वी नेपाल र विशेष गरी भेडेटारमा आकर्षित गर्न फेष्टिवल आयोजना गरिएको हो ।

धरान र धनकुटाको पर्यटन प्रवर्द्धनमा भेडेटारको उल्लेख्य भूमिका रहेकाले यसको अझै प्रचारप्रसार गर्न र पर्यटनसँगै आर्थिक विकास पनि हुन्छ भनेर अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा फेष्टिवल आयोजना गरिएको आयोजक होटल एसोसिएसन भेडेटारले जनाएको छ ।

तीन दिनसम्म हुने फेष्टिवलमा विभिन्न जात जातिका खाद्य परिकारका स्टलहरू, अर्ग्यानिक खानाका स्टल, स्थानीय कृषि उत्पादनका स्टलहरू गरी १५ वटा स्टलहरू रहेका छन् । फेष्टिवलको उद्घाटनमा विभिन्न जातिको झाँकी प्रस्तुत गरिएको थियो । फेष्टिवल उद्घाटनको अवसरमा हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो ।

फेष्टिबलको अवधिमा भेडेटार धरान प्याराग्लाइडिङ, मुलघाट-चतरा र्याप्टीङ, नमस्ते झरनामा पानीबाट डोरी टाँगेर झर्ने क्यानोनोइङ, साइक्लिङ, ध्वजेडाँडाबाट सूर्योदय हेर्ने प्याकेज, राजारानी तालमा बोटिङ जस्ता पर्यटकीय गतिविधिहरू सञ्चालन हुनेछन् भने डाँडा बजारमा रहेको ठुलो अजंगको रुख हेर्ने अवसर, स्थानीय जातिको खानेकुराको प्रदर्शनी, कृषिसँग सम्बन्धित उत्पादित वस्तुको प्रदर्शनी तथा व्यापार हुने आयोजकले जनाएको छ ।

Bhedetar-Mahotsab-2

फेष्टिवलमा करिब ३० हजार पर्यटकहरू सहभागी हुने आयोजकको अनुमान छ । करिब १९ लाख खर्च हुने अनुमान गरिएको फेष्टिवलको अवधिमा भेडेटारमा करिब एक करोडको कारोबार हुने आयोजकको अपेक्षा छ । फेष्टिबल पश्चात् वर्षभरिमा भेडेटारमा पर्यटकहरूको वृद्धि हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

फेष्टिवलको अवधिमा ६ हजार ६ सय रुपैयाँ भेडेटारमा, भेडेटार-पाथीभरा २७ हजार र धरान-पाथीभरा ३२ हजारमा हुँदै आएको माउन्टेन फ्लाइट १५ प्रतिशत छुटमा गराइने सञ्चालक सन्दीप भण्डारीले जानकारी दिए।

यस्तै भेडेटार धरान जीपलाईनमा पनि १५ प्रतिशत छुट गरिने आयोजकले जनाएको छ। भेडेटार धरान जीपलाईन यसअघि एक हजार २ सय, १ हजार ५ सय र २ हजारमा हुँदै आएको थियो ।

Bhedetar-Mahotsab-4 Bhedetar-Mahotsab-5 Bhedetar-Mahotsab-8 Bhedetar-Mahotsab-6 Bhedetar-Mahotsab-7