सुनसरी : सुनसरी जिल्ला स्तरीय 'ए' डिभिजन लिग फुटबलमा धरानको टेम्के क्लब र इटहरीको राष्ट्रिय जागृति क्लब विजयी भएका छन् ।

इटहरी स्थित क्षेत्रीय रङ्गशालामा शुक्रवार सम्पन्न पहिलो खेलमा टेम्के क्लबले इटहरी फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गरेको छ। टेम्के क्लबको जितमा एलम्बर राईले पहिलो हाफको ३१ औ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । उक्त खेलको म्यान अफ द म्याच टेम्केका गोल किपर जोशन श्रेष्ठ घोषित हुँदै नगद १ हजार ५ सय रुपैयाँ पाए ।

शुक्रवार नै सम्पन्न दोस्रो खेलमा राष्ट्रिय जागृति क्लब इटहरीले धरान फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गरेको छ । राष्ट्रिय जागृतिका लागि म्यान अफ द म्याच अभिषेक विश्वकर्माले दोस्रो हाफको १७ औ मिनेटमा निर्णायक गोल गरे ।

भोलि शनिवारको पहिलो खेल न्यु स्टार क्लब वराहक्षेत्र र गोधुली क्लब धरान बिच हुनेछ भने दोस्रो खेल दुहबीका दुई टिम एलेभेन एरोज क्लब र गोल्डेनस्टार क्लब बिच हुने आयोजकले जनाएको छ ।

अखिल नेपाल फुटबल सङ्घ एन्फा सुनसरीको आयोजनामा सुरु भएको लिगमा सुनसरीका आठ टिमको सहभागिता रहेको एन्फा सुनसरी अध्यक्ष केशव कार्कीले जानकारी दिए ।

Lig-game-1