धरान : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) सुनसरीले आयोजना गरेको बास्केटबल खेलको फाइनल भोलि हुने भएको छ ।

धरान-१८ स्थित डिपो स्कुलको बास्केटबल कोर्टमा शुक्रवार भएको खेलमा हिमालयन स्कुलले धरान आदर्शलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको छ ।

हिमालयनले ३०-१३ को फराकिलो अन्तरमा धरान आदर्शलाई पराजित गरेको थियो । हिमालयन स्कुलका युवाहाङ राई म्यान अफ द म्याच घोषित भएका थिए ।

शुक्रवार भएको दोस्रो सेमिफाइनलमा एम्स एकेडेमीले समिट स्कुललाई ३२-१७ को स्कोरमा पराजित गर्दै फाइनलमा हिमालयन स्कुलसँगको भेट पक्का गरेको छ । एम्स एकेडेमीका सञ्जय राना मगर म्यान अफ द म्याच घोषित भएका थिए ।

त्यस्तै गरी शुक्रवारै भएको महिला बास्केटबल तर्फको खेलमा जित दर्ता गर्दै विष्णु मेमोरियल स्कुल र धरान आदर्श फाइनलमा प्रवेश गर्न सफल भएका छन् ।

विष्णु मेमोरियलले हिमालयनलाई ८-७ स्कोरले पराजित गर्दै फाइनल पुगेको थियो । खेलको म्यान अफ द म्याच विष्णु मेमोरियलकी रोसिका राई घोषित भएकी थिइन् ।

दोस्रो खेलमा धरान आदर्शले डिपो स्कुललाई १८-२ को फराकिलो स्कोरमा पराजित गर्दै फाइनलमा विष्णु मेमोरियलसँगको भेट पक्का गरेको छ । खेलको म्यान अफ द म्याच धरान आदर्शकी आशा लामा घोषित भइन् ।
बास्केटबलको फाइनल खेल भोलि शनिवार बिहान ७ः३० बजेदेखि सुरु हुने खेल व्यवस्थापक विकास चाम्लिङ राईले जानकारी दिए ।