विराटनगर : कोभिड-१९ को नयाँ भेरिअन्ट अमिक्रोन भाइरस फैलिरहेको बेला लुथरन सामुदायिक कल्याण समाज रंगेलीले भेन्टिलेटर सहित ४२ लाख ७४ हजार १०४ रुपैयाँ बरबरको स्वास्थ्य सामाग्री कोशी अस्पताललाई निःशुल्क प्रदान गरेको छ ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि सांसद तथा पूर्व रक्षा मन्त्री मिनेन्द्र रिजालले कोशी अस्पतालका निमित्त सुपरिटेन्डेन्ट लक्ष्मीनारायण यादवलाई उक्त सामाग्री हस्तान्तरण गरे ।

कार्यक्रममा पूर्व मन्त्री रिजालले धर्म र सम्प्रदाय भन्दा माथि उठेर लुथरनले गरेको यो मानवीय कार्य उदाहरणीय रहेको बताए। यस अघि पनि जोखिममा रहेका मानिसहरूलाई लुथरन सामुदायिक कल्याण समाजले गरेको मानवीय सहयोगको प्रशंसा गर्दै रिजालले कोशी अस्पताललाई गरेको सहयोगको लागि धन्यावाद दिए ।

मोरङको क्षेत्र नम्बर २, ५ र झापा जिल्लाको तल्लो क्षेत्रमा बसोबास गर्ने सन्थाल समुदायमा काम गरिरहेको लुथरनले अझ राम्रो र फराकिलो गर्दै आफ्ना कार्यक्रम लिएर जाओस् भन्ने शुभकामना समेत रिजालले दिए ।

कोशी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट लक्ष्मी नारायण यादवले कोभिड-१९ को महामारीको अहिलेको अवस्थामा बालबालिकालाई अति आवश्यक पर्ने बच्चाको भेन्टिलेटर सहितको सामाग्री दिएर आम सर्बसाधरणको उपचारमा सहजता प्रदान गरिदिनु भएकोमा लुथरन सामुदायिक कल्याण समाजलाई कृतज्ञता व्यक्त गरे । उनले ग्रामीण क्षेत्रमा रहेर पिछडिएको समाजमा काम गर्ने संस्थाले त्यहाँका स्थानीयवासी समेत लाभान्वित हुन भन्ने उद्देश्य राखेर स्वास्थ्य सामाग्री प्रदान गरेकामा आफूलाई समेत खुसी लागेको बताए ।

लुथरनले गरिरहेको कामका बारेमा संस्थाका सिइओ सुमन राई र अस्मिता चौधरीले सदृश्य वर्णन गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष जोसेफ सोरेनले संस्थामार्फत कोभिडको समयमा र अन्य विपतमा समुदायमा काम गर्न पाउँदा आफूहरूलाई निकै गर्व लागेको बताए । संस्थाले कार्यरत रहेका गाउँपालिका र नगरपालिकाका स्वास्थ्य संस्थाहरूलाई निःशुल्क रूपमा यस अघि पनि स्वास्थ्य सामाग्री वितरण गरेको जानकारी दिए ।

जहदा गाउँपालिकाका अध्यक्ष कैलाश मण्डलले विपत र जोखिमका बेला लुथरनले जनताको साथी भएर काम गरिरहेको बताए । उनले अन्य समुदायमा समेत काम गर्न आग्रह गरे ।