इटहरी : नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र कुमार राईले विद्यार्थी सङ्गठनको औचित्यमाथि प्रश्न उठाएका छन् । खास मुद्दा भन्दा बाहिर राजनैतिक विषयमा सङ्गठन केन्द्रित भएको भन्दै यसको औचित्य माथि प्रश्न गर्ने बेला भएको बताएका हुन् ।

आज इटहरीमा आयोजित नेकपा एसको विद्यार्थी भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले विद्यार्थी सङ्गठनको भूमिका माथि बोलेका हुन् । प्रदेश १ का मुख्यमन्त्री समेत रहेका राईले यस्तै व्यवहारले अब विद्यार्थी आन्दोलन नचाहिने र सामाजिक उतरदायीत्वको क्षेत्रमा लाग्न आग्रह गरे ।

अनेरास्ववियूको पहिलो प्रदेश अधिवेशनका क्रममा राईले आफू बैँस र बल भएसम्म विद्यार्थी संठगनमा रहेकाले यसमा आफ्नो गहिरो लगाव भएको स्मरण गराए। अहिलेको अवस्थामा विद्यार्थी सङ्गठनले बाटो बिराएको र पार्टीको शाखा उपशाखा जस्तो भएको उनको टिप्पणी छ।

“विद्यार्थी आन्दोलन पार्टीको शाखा उपशाखा हैन । यो सामुदायिक आन्दोलन हो । चाहिएको बेला मात्र पार्टी लाई सहयोग गर्ने हो । अन्यथा विद्यार्थी लाई सहयोग गर्ने सामुदायिक आन्दोलन हो विद्यार्थी सङ्गठन ।, उनले भने, सुरुवातका दिनहरूमा राजनीतिक मुद्दामा विद्यार्थी संगठको जरुरी थियो । अब समुदाय प्रति ध्यान केन्द्रित गर्नुपर्‍यो ।

पार्टी भन्दा फरक दृष्टिकोण र विचार राख्न सक्नुपर्ने बताउँदै उनले यो पार्टी र सक्ताको स्थायी प्रतिपक्षी हुनुपर्ने उनको बुझाई छ । पार्टीहरूले गणतन्त्रमा खानेकुरा कल्पना गर्न नसकेको अवस्थामा विद्यार्थीहरुलेनै त्यसबारे आन्दोलन छेडेको उनको भनाई छ ।