इटहरी : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमाले केपी शर्मा ओलीको भजन मण्डली भएको बताएका छन् ।

आइतबार इटहरीमा अनेरास्ववियूको प्रदेश अधिवेशन उद्घाटनको क्रममा एमालेमा राजनैतिक संस्कार हराएर देवत्वकराण प्रवृत्ति हाबी भएको बताएका हुन् ।

ओली प्रति निक्कै आलोचक देखिएका नेपालले एमालेका नेताहरू बिस्तारै नेकपा एसमा प्रवेश गर्ने बताए । पूर्व केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज धर्मराज निरौलाबाट त्यसको सुरुवात भएको उनको भनाई छ । “ओलीका विश्वासपात्रले पार्टी छाडे भनेर समाचार आउनेछ । ओलीलाई कम्युनिस्ट कार्यकर्ताले साथ दिँदैनन् । उनका भक्तहरू मात्र उनको साथमा रहन्छन्,” उनले भने ।

सुदूरपश्चिममा एमाले पार्टी सबैभन्दा कमजोर भएको स्मरण गराउँदै उनले पश्चिमबाट बढारेर पूर्वको मेचीमा लगेर ओलीलाई बगाउने उद्घोष गरे । नेकपा एसमा विचार र सिद्धान्त भएको बताउँदै उनले एमालेसँग केही पनि नभएको र ओलीको अत्याचार विरुद्ध रुनेभन्दा पनि भिडेर अगाडी बढ्न तयार भएको बताए ।

आफूलाई बेवास्ता गरेको प्रति रोष प्रकट गर्दै उनले ओली कार्यकर्ताको कुरा सुन्ने नेता नभएको बताए । पार्टी सुधार गरौँ भन्ने कार्यकर्ताको कुरा नसुनेपछि उनीहरू आफूहरूकै पार्टीमा आउने धारणा राखे । अहिले जनताले विश्वास गर्न लायक पार्टी खोजी रहेको र त्यो नेकपा एकीकृत समाजवादी नै भएको उनले बताए ।

जनताको मन बुझ्न सक्ने र जनचाहनालाई अगाडि बढाउने पार्टी भएकाले जनताको प्यारो पार्टी बनाउने अभियानमा लागेको उनले प्रस्ट पारे ।