विराटनगर : प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले स्वास्थ्य कार्यालय पाँचथर र जिल्ला अस्पतालको अनुगमन गरेका छन् ।

स्वास्थ्य कार्यालयको आइतबार अनुगमन पछि उनले कोरोनाको नयाँ भेरिअन्ट ओमिक्रोनको तयारीका लागि निर्देशन दिएका छन् । उनले कोरोनाको पहिलो र दोस्रो लहर भएको तयारीबारे पनि जानकारी लिएका थिए ।

स्वास्थ्य कार्यालयका निमित्त प्रमुख तेजबहादुर तुम्वापोले पहिलो लहरमा क्वारेन्टाईनलाई प्राथमिकतामा राखेर काम गरिएको र दोस्रो लहरमा होम क्वारेन्टाईनलाई प्राथमिकता दिएर काम गरेको बताए । उनले होमक्वारेन्टनका कारण संक्रण फैलिएको पनि अवगत गराए ।

निमित्त प्रमुख तुम्वापोले संस्थागत क्वारेनटाइन, आइसोलेसनलाई जोड दिएका थिए । उनले स्वास्थ्य कार्यालयका लागि आवश्यक बजेट विनियोजन नभएको बताए ।

मन्त्री यादवले आजै जिल्ला अस्पताल पाँचथरको पनि अनुगमन गरेका थिए । उनले अस्पतालको सबै वार्डको अनुगमन गरेको मन्त्री यादवका स्वकीय सचिव देवेन्द्रप्रसाद यादवले जानकारी दिए ।

अस्पताल अनुगमनका क्रममा अस्पताल प्रमुख डा. बुद्धिबहादुर थापाले १५ बेड क्षमताको अस्पतालले ४० बेड सञ्चालन गरिरहेको बताए । उनले ५० बेडका लागि स्वीकृतिको माग गरे ।

सङ्घीय सरकारबाट प्राप्त भएको ४ वटा भेन्टिलेटर सञ्चालनका लागि जनशक्ति अभाव भएकाले सो को व्यवस्था गरिदिन गरिएको थियो ।

मन्त्री यादवले आफूले स्वास्थ्य कार्यालय र अस्पतालका लागि गर्न सक्ने सम्म काम गर्ने बताए । उनले सेवाग्राहीबाट गुनासो नआउनेगरि सेवा प्रवाह गर्न पनि निर्देशन दिए ।