इटहरी : नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा सुनसरीबाट ४ जना चयन भएका छन् । महाधिवेशनमा सुनसरीबाट ३ पुराना १ नयाँ अनुहार परेका हुन् ।

अघिल्लो कार्यसमितिमा पनि केन्द्रीय सदस्य भइसकेका एकचन्द्र बराल, किरण राई र रामकुमारी चौधरी पुनः चयन भएका छन् । त्यस्तै सुरेन्द्र मेहेताले केन्द्रीय सदस्यमा पहिलो पटक डेब्यू गरेका हुन् ।

सुनसरीमा कमजोर अवस्थामा रहेको माओवादीलाई बलशाली बनाउन लागिपर्ने नवनिर्वाचित केन्द्रीय सदस्य एकचन्द्र बरालले बताए। उनका अनुसार माओवादीको विधान अनुसार प्रदेश समिति शक्तिशाली रहेकाले उसैको निर्देशन बमोजिम जिल्ला समन्वय समिति परिचालित हुनेछ । केन्द्रले जिल्लामा इन्चार्ज तोकेर पठाउने र इन्चार्जले केन्द्रको निर्देशन र नियमलाई जिल्लामा कार्यान्वयन गर्ने उनको भनाई छ।

पार्टी कमजोर भएको अवस्था सर्वविदित गरेकाले अब सांगठानिक र वैचारिक हिसाबमा सशक्त भएर लागिपर्ने बताए। परिणाममुखी भएर जनताको समस्यामा आफूहरू लाग्ने र पार्टीको जिम्मेवारी पुरा गर्ने उनले प्रष्ट पारे।

माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने भनीएपनि अध्यक्ष प्रचण्डले २३६ जनाको नामावली वाचन गरेसँगै महाधिवेशन सम्पन्न भएको हो।