धरान : धरान स्थापना दिवसको अवसरमा धरान उपमहानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

गत पुष १४ गते बसेको कार्यपालिका बैठकले पुष २० गते “धरान डे”को अवसरमा धरान क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । धरानमा पुष २० गतेदेखि २३ गते तीन दिनसम्म धरान डे मनाउने निर्णय गरेको छ । सोही अवसरमा आज सर्वाजानिक बिदा दिएको हो ।

आधुनिक धरान शहरको जग वि.स.१९५७ सालमा बस्ती बस्न थालेर सुरु भएको बताइन्छ । त्यही आधारमा तत्कालीन धरान नगरपालिकाले २०५७ सालमा शतवार्षिकी महोत्सव आयोजना गरेको थियो । त्यसपछि धरानमा पुष २० गतेलाई धरान स्थापना भएको मानककोरुपमा लिएर धरान डे मनाउँदै आएको छ । पुष २० गते आधुनिक धरान सहर स्थापनाको १२१ औँ वर्ष पुग्दै छ । पब्लिक हाई स्कुलमा हुने धरान डे उत्सवमा ३ दिन विविध कार्यक्रमहरू हुनेछ ।

धरान डे कै अवसरमा आज बिहान धरानमा पदयात्रा सम्पन्न भएको छ । धरानको मुख्य चौक भानुचौकमा धरानका मेयर तिलक राईले सिट्ठी फुकेर सुरु भएको पदयात्राले धरानको माछाभौडी, पुरानो बजार, छाताचौक हुँदै पब्लिक हाईस्कुलको खेल मैदानमा पुगेर समापन भएको थियो ।

यसै गरी अहिले प्रधानमन्त्री शेरबहादुर देउवा धरान आउँदै छन् । प्रधानमन्त्री देउवा हेलिकप्टर मार्फत आउने र नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले धरान २ स्थित रहेको नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ को नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन गर्ने पहिलो कार्यक्रम तय भएको छ ।

त्यसपछि धरान ६ पानवारिमा रहेको फोहोर प्रशोधन केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने धरान-८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनामा बन्दै गरेको बसपार्कको अवलोकन गर्ने कार्यक्रम तय भएको छ ।

बसपार्क अवलोकन पश्चात् प्रधानमन्त्री देउवाले धरान-१२ स्थित निर्माण भएको प्राविधिक शिक्षालय भवनको उद्घाटन गर्ने कार्यक्रम छ भने दिउँसो १ बजे धरान स्थापना दिवसको औपचारिक कार्यक्रम धरान १२ स्थित पब्लिक हाईस्कुलको प्राङ्गणमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

Suchana Dharan-day Dharan-day-1