धरान : नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य जय कुमार राईले प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिले धरानको गरिमा बढेको बताएका छन् ।

धरान दिवस-२०७८ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री देउवाको आगमनले धरानको विकासमा टेवा पुग्ने बताए ।

धरानमा खानेपानी र बेरोजगारी समस्याको कारण व्यापार बसाइसरेको उनले स्मरण गराए । धरानमा बसोबास सुरु भएको १२१ वर्ष भएकाले अब ऐतिहासिकतालाई जोगाउन समग्र विकासमा बजेट विनियोजन गर्न आग्रह गरे ।

प्रधानमन्त्रीले नियुक्त भएकै बेला कोभिड विरुद्धको भ्याक्सिन उपलब्ध गराउने बाचा आफूहरूले सम्झिरहेको उनले बताए । एमसिसीको विषयमा राष्ट्रिय सहमति जुटाएर सदनमा ल्याउन आग्रह गरे ।

धरानको मुख्य समस्याको रूपमा रहेको सुकुम्वासी समस्या समाधानमा पहल लिइदिन अनुरोध गरेका छन् । उनले विपि प्रतिष्ठानको समस्या समाधान गर्नुपर्ने र धरान-धनकुटा सुरुङ मार्ग निर्माण गर्न पहल गर्दिन पनि आग्रह गरे ।