धरान : नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ ले विभिन्न माग राखेर प्रधानमन्त्री शेरबहादुर देउवालाई १५ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लामो समयदेखि भइरहेको गतिरोध अन्त्यका लागि ठोस् र निर्णायक कदम चाल्न ढिला हुँदा प्रतिष्ठानको स्वास्थ्य सेवा, शिक्षा सेवा र प्रशासनिक सेवा दिनानुदिन झन् खस्कँदै गइरहेकाले सेवाग्राहीहरू प्रत्यक्ष मारमा परिरहेका छन् । त्यसैले सरकारबाट गठित विभिन्न समितिहरूको प्रतिवेदन उपर यथाशीघ्र निर्णायक कदम चाल्न माग गरिएको छ।

निर्माणाधीन जोगवनी-किमाथाङ्का ६ लेनको राजमार्गलाई धरान बजारवाट लैजाँदा जनताको ठुलो क्षति हुने भएकाले तीनकुनेबाट बाइपास गर्न र बजार क्षेत्रको सडकको उपयुक्त स्तरोन्नति गर्न आग्रह गरिएको छ।

सेउती-सर्दु-खहरे खोलाले बर्सेनि कटान गरी खेती योग्य जमिन र बस्तीमा ठुलो क्षति हुने गरेकाले स्थायी तटबन्ध तथा कोरिडोर निर्माणको योजनालाई मूर्त रूप दिन आवश्यक बजेट र नीति सहित प्रभावकारी कदम चालिनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ ।

पूर्वाञ्चलकै सुन्दर सहर कहलिएको धरानमा सुकुम्वासी समस्याको हालसम्म उचित र दीर्घकालीन समाधान हुन नसकेको हुँदा आवश्यक प्रभावकारी नीति, कार्यक्रम र योजना सहित समाधान गर्न अनुरोध गरिएको छ ।

धरान-४ र १४ जोड्ने बेल डाँडामा पक्कीपुलनिर्माण गर्न आवश्यक देखिएकाले यसका लागि आवश्यक बजेट सहितको योजना प्रदान गर्न माग गरिएको छ। धरानको खानेपानी समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने गरी खानेपानी आयोजना प्रदान गर्न ज्ञापन पत्रमा माग गरिएको छ ।

धरान-लेउती सुरुङ मार्ग निर्माणका लागि आवश्यक कार्य प्रारम्भ गर्न र धरान उपमहानगरका वडाहरू ४, ५, ६, २० बराह नगरपालिकाको वडाहरू १, २, ३, ४, ५ र रामधुनी नगरपालिकाका वडाहरू ६ र ७ लाई कृषि क्षेत्र घोषणा गरी आवश्यक योजना र कार्यक्रम लागु गर्न माग गरिएको छ ।

तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाको पालामा स्वीकृत भएको २५ शय्याको भरौल प्राथमिक स्वास्थ्य केन्द्रको निर्माणका प्रक्रियाहरू अघिल्लो ओली सरकारको पालामा स्थगित भएकाले पुनः सुचारु गर्न अनुरोध गरिएको छ ।

धरानको पर्यटन क्षेत्रमा महत्त्वपूर्ण टेवा पुर्याउंदै आएको प्याराग्लाइडिङलाई थप सुरक्षित र व्यवसायीकरण गर्न आवश्यक भि.एच.एफ. टावर र ल्यान्डिङ ग्राउन्ड निर्माणका लागि आवश्यक बजेट सहितको योजना प्रदान गर्न भनिएको छ ।

धरान उपमहानगर आसपासमा रहेका यस क्षेत्रभित्र पर्ने अन्य नगरका वडाहरूलाई समावेश गरेर धरानलाई महानगर बनाउने तर्फ समेत गृहकार्य गर्न अनुरोध गरिएको छ ।

धरान-८, १८ र १९ मा पर्ने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने धनकुटे रोड भोटेपुल देखि बुद्धचौक सम्मको सडक जीर्ण भएको हुँदा पुनःनिर्माणका लागि ज्ञापन पत्रमा अनुरोध गरिएको छ ।

धरान-९ र १० तथा धरानको मुख्य व्यापारिक क्षेत्रमा पर्ने भानुचौक देखि पश्चिमको पुतलीलाईन सडक समेत अति जीर्ण भएकाले पुनः निर्माणका लागि प्रधानमन्त्री देउवालाई बुझाइएको ज्ञापन पत्रमा अनुरोध गरिएको छ ।
धरानको मुख्य बजार क्षेत्रमा जथाभाबी अव्यवस्थित तवरले सञ्चालित सवारी साधानहरुको वर्कसपले बजारको सुन्दरतामा आँच ल्याएकाले बजार क्षेत्र भन्दा बाहिर सेउती खोला किनारमा एकीकृत गरी व्यवस्थित अटो जोन निर्माण गर्न समेत भनिएको छ ।

धरानमा निर्माणाधीन रहेको आदिवासी जनजाति बहु जातीय सङ्ग्रहालय बजेट अभावका कारण प्रारम्भिक चरणमै रहेको हुँदा सोको पूर्णताका लागि यथेष्ट बजेटको व्यवस्था गर्न अनुरोध गरिएको छ ।

धरानका ४ व्यवसायी नेपाली काँग्रेसमा प्रवेश

नेपाली काँग्रेसको पार्टी कार्यालय उद्घाटन समारोहमा धरानका व्यवसायी अनिल अग्रवाल सहित ४ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

नेपाल उद्योग परिसंघ सुनसरी अध्यक्ष तथा मारवाडी सेवा समितिका अध्यक्ष अग्रवाल सहित मारवाडी युवा सङ्गठनका केन्द्रीय सदस्य सन्तोष अग्रवाल, मारवाडी युवा मञ्चका अध्यक्ष दिनेशकुमार अग्रवाल र मारवाडी सेवा समितिका धरानका कोषाध्यक्ष लक्ष्मीकुमार बिहानी नेपाली काँग्रेसमा पार्टीमा प्रवेश गरेको जनाइएको छ। उनीहरूलाई पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका थिए ।

सोही कार्यक्रममा नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङले प्रदेश सरकार सञ्चालनमा मन्त्रिमण्डल हेरफेरमा पालो सिस्टम हुनुपर्ने बताएका थिए । उनले प्रदेश १ को अबको मन्त्रिमण्डल विस्तारमा धरानबाट चन्द्रप्रसाद श्रेष्ठलाई समेट्नुपर्ने माग समेत गरेका थिए ।

ज्ञापन पत्रको पुर्णपाठ