धरान : भोजपुर र मोरङमा भएका दुई छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ ।

भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ हिमाङमा मङ्गलवार बेलुका भएको ट्याक्टर दुर्घटनामा परी सोही ट्याक्टरका सह–चालकको मृत्यु भएको छ ।

भोजपुरबाट घोडेटार जाँदै गरेको प्रदेश १-०२-००३ त ९४० नम्बरको ट्र्याक्टर आफै अनियन्त्रित भई पल्टिँदा ट्याक्टरका सह-चालक हतुवागढी गाउँपालिका-१ का रञ्जित सार्कीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसै गरी मोरङको विराटनगर महानगरपालिका–११ मा रहेको एक माछा पोखरीमा डुबेर स्थानीय २८ वर्षीय सुजन कामतको मृत्यु भएको छ ।

पुस १५ गते बाट घर देखि हराइरहेका कामतको खोजतलास गर्ने क्रममा मङ्गलवार बेलुका साँढे ६ बजे गाउँकै पोखरीमा मृत अवस्थामा कामतको शव फेला परेको थियो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।