इनरुवा : नेकपा माओवादी केन्द्रका विभिन्न तहका एक दर्जन नेता सहित ३१५ जनाले सो पार्टी परिवर्तन गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

नेकपा माओवादी केन्द्रमा बुद्धिजीवी फाँटको केन्द्रीय तथा प्रदेश तहमा रहेका नेता सहितका जिल्ला तहका नेताहरूले बुधवार एक विज्ञप्ति मार्फत माओवादी केन्द्रले सामान्य विधि, नीति र पद्धति समेत उल्घंन गर्दै विसर्जनतर्फ अग्रसर भएकाले सो पार्टी परित्याग गर्नु परेको जनाएका छन् ।

विज्ञप्तिमा सागंठनिक, सैद्धान्तिक र वैचारिक विचलन सहित दक्षिणपन्थी विसर्जनवादतर्फ नेकपा माओवादी केन्द्र गएको ठहर गरी समाजवादको दिशातर्फ उन्मुख भई अगाडी बढ्न नसकेकाले पार्टी परित्यागको अवस्थामा पुगेको उल्लेख गरिएको छ ।

माओवादीले गरेको जनयुद्धबाट प्राप्त कम्युनिस्ट आन्दोलनका उपलब्धिलाई सम्मान र आत्मसात् गर्दै नेकपा एकीकृत समाजवादीले लिएको समाजवादको बाटोमा अगाडी बढ्न सकिन्छ भन्ने ठहर गरी हामी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेकपा माओवादी केन्द्रको बुद्धिजीवी फाँटका प्रदेश सचिव प्राध्यापक अर्जुन उप्रेती, प्रदेश सदस्य डा खगेन्द्र ओली, स्वास्थ्यकर्मी सङ्घका जेपी उराँव, बुद्धी फाँटका चेवन कोइराला, विशाल ओलीलगायत ३१५ जनाले सो पार्टी परित्याग गरेको घोषणा गरेका हुन ।

माओवादी परित्याग गरी नेकपा एसमा प्रवेश गर्नेहरूलाई नेकपा एसका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश एकका इन्चार्ज धनेन्द्र बस्नेत, पोलिटव्युरो सदस्य धर्मराज निरौला, जिल्ला अध्यक्ष गोविन्द निरौला, प्रदेश सदस्य दिवाकर रेग्मी, प्रदेश एकका नेता चिरञ्जीवी भट्टराई, इटहरी इन्चार्ज केवल फुयाँललगायतले प्रदेश कार्यालयमा स्वागत गरेका थिए ।

नेकपा एसका केन्द्रीय सदस्य केशव विष्टले आज प्रवेश गर्नु भएका साथीहरूले ३१५ जनाको नामसहितको हस्ताक्षर बुझाएकाले प्रदेश वा जिल्ला तहमा केही हप्ता भित्र औपचारिक समारोहको आयोजना गरी विधिवत् रूपमा पार्टीमा जिम्मेवारी दिने गरी कार्यक्रमको आयोजना गरिने बताए ।

नेकपा एसमा प्रवेशपछि प्रतिक्रिया दिँदै प्राध्यापक अर्जुन उप्रेतीले माओवादी केन्द्र आठौँ महाधिवेशनपछि परिवारवाद भित्र फस्न पुगेकाले हिजो संघर्षको मैदानबाट राजनीतिमा आएका सयौँ नेता कार्यकर्ताहरू जिम्मेवारी विहीन अवस्थामा पुगेकाले हामी ३१५ जनाले संयुक्त रूपमा माओवादी पार्टी एमाले भन्दा पनि चरम अवसरवादी र व्यत्तीवादी रहेको ठहर गरी नेकपा एसका प्रवेश गरेको बताए ।

Nekapa-s-Bigyapti