इटहरी : धरान उपमहानगरपालिकाका मेयर तिलक राई अत्यन्तै चतुर राजनैतिक खेलाडीको रूपमा देखा परेका छन् ।

धरान काँग्रेसमा राई चलाख नेताको रूपमा स्थापित भएका छन्। आफ्नो पक्षमा माहौल बनाउन सिपालु उनी स्थानीय कार्यकर्ता देखी केन्द्रीय सभापति सम्म बराबर पहुँचमा छन् । कोइराला टिमको भए पनि सभापति शेरबहादुर देउवाको प्रशंसा पाउने बिरलै व्यक्ती मध्ये पर्छन् राई ।

दोस्रो कार्यकालमा सभापति विजयी भएपछि सभापति देउवाको पहिलो जिल्ला भ्रमण धरानबाट सुरु भयो । त्यसमा पनि उनै मेयर राईको निम्तोमा देउवा मंगलबार दिनभर धरानमै रहे । धरानका सबै कार्यक्रममा देउवाले राईलाई हौसला बढाउने शब्द खर्च गरे । धरान उपमहानगरको पार्टी कार्यालय उद्घाटन गर्ने क्रममा राईले धेरै राम्रो काम गरेको बताए ।

प्रधानमन्त्री समेत रहेका देउवा यसअघि उपमहानगरपालिकाको दोस्रो चरणको निर्वाचनमा धरान आएका थिए । केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला धरान पुगेका उनले कम्युनिस्टबाट देश नचल्ने भन्दै उनले विकल्प दिन आग्रह गरेका थिए ।

परिवर्तनको पक्षमा भोट माग्दै राईलाई विजय गराउन आग्रह गरे। धरानलाई काँग्रेसको गढ बनाउन राईको जित अपरिहार्य भएको उनको भनाई थियो। नभन्दै राई विजयी भए ।

राई विजयी भएपश्चात् बधाई दिन देउवा पुनः धरान पुगे। बधाई दिने क्रममा उनले धरानलाई हरतरहले सहयोग गर्ने बाचा गरे । दोस्रो कार्यकालको लागि सभापति भएका देउवा सामु काँग्रेसलाई बलियो बनाउने चुनौती छ । पहिला विजयी भएका पालिकामा पुनः विजयी गराउने उनको रणनीति छ ।

बाँकी काँग्रेस बलियो भएर पनि पराजित भएका पालिकाहरूमा एकताको सन्देश दिएर विजयी गराउने उनको तयारी देखिन्छ। अघिल्लो कार्यकालमा काँग्रेस कमजोर बनाएको आरोप पखाल्न उनले कोसिस गरिरहेका छन्।

मङ्गलवारको धरान भ्रमणमा पनि उनले आफ्नो अन्तिम कार्यकाल भएको स्मरण गराउँदै एकताको सन्देश दिने बाचा गरे । धरानमा कोइराला समूह बलियो भएपछि उनले एकताको विषय उठाएका हुन् । सोही क्रममा मेयर राईको खुलेर प्रशंसा गरेका उनले काँग्रेसको कार्यकालमा विकाशको योजना बढी आएको बताए ।

मेयर राईले पनि काँग्रेस पार्टी कार्यालय, अत्याधुनिक फोहोर मैला प्रशोधन केन्द्र, निमार्णधिन नमुना बसपार्कको अवलोकन गराए। आफ्नो कार्यकालमा भएका काम भन्दै उनले प्रधानमन्त्री देउवा सामु भावी योजना साटे।

खानेपानी समस्या समाधान गर्नुपर्ने र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषय समाधान गर्नुपर्ने, ६ लेन सडक बाइपास गर्नुपर्ने, सुकुम्वासीलाई लालपुर्जा दिनुपर्ने जस्ता माग राखे । त्यसमा पनि देउवाले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

राईले निजी निवासमै खानाको व्यवस्था गरेका थिए । खानापछि कार्यकर्तासंगको भेटमा पनि देउवाले राईको खुलेर प्रशंसा गरे । देउवाको नजरमा पर्न सफल राईले आगामी स्थानीय निर्वाचनमा पुनः टिकट पाउने सम्भावना बढेको छ ।

यसअघि २०७४ को निर्वाचनमा पराजित भएका थिए राई । एमालेबाट विजयी तारा सुब्बाको निधन भएपछि दोस्रो चरणका निर्वाचनमा उनी विजयी भएका हुन् । पार्टी भित्र शेखर कोइराला निकट मानिए पनि उनले देउवासँग सम्बन्ध सुधार गरेका छन् ।

भर्खरै सम्पन्न काँग्रेसको १४ औँ अधिवेशनमा सुनसरी क्षेत्र नम्बर १ बाट क्षेत्रीय सभापतिमा उनको दाबी थियो । धरान उपमहानगरको दुई कार्यकाल नेतृत्व गरेका उनले देउवा टिमको सहयोगमा सभापति उम्मेदवार हुने चर्चा चलाए । देउवा समूहले सहयोग गर्ने भएकाले आफू उम्मेदवार हुन लागेको उनले बताएका थिए ।

उम्मेदवारी मनोनयनको अघिल्लो दिन आफू उम्मेदवार बन्न नसक्ने बताएपछि देउवा समूह रुष्ट भएका थियो । त्यसपछि उनी कोइराला प्यानलबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार भए । अत्याधीक बहुमतका साथ महाधिवेशन प्रतिनिधि विजयी भएपछि उनले देउवा टिमलाई धोका दिएको आरोप लाग्यो ।

तर पछिल्लो समय देउवालाई गृहनगर भ्रमण गराएर उनले सबै दोष पखाल्ने प्रयास गरेका छन् । धरानका स्थानीय देउवा पक्षीय नेताभन्दा उनको प्रभाव बलियो बन्दै गएको छ । अगामी स्थानीय तहको निर्वाचनमा पनि उनकै पल्ला भारी देखिएको छ । देउवा पक्षीय किशोर राईको दाबी रहे पनि तिलक राईको देउवा सङ्गका व्यक्तिगत निकटताले प्रभाव पार्ने देखिएको छ ।

आफ्नो टिम विजयी गराउन नसकेको आरोप लागेका मीन विश्वकर्मा धरानमा प्रभावहीन नेता मानिन्छन् । केन्द्रीय सदस्यमा मनोनीत भए पनि उनको स्थानीय प्रभाव झनै कमजोर बन्दै गएको छ। नगर देखी क्षेत्र, जिल्ला, प्रदेश र केन्द्र सम्म नै व्याक्तीगत र टिमको दुवै प्रभाव बाढेका उनले पुनः मेयर बन्ने बाटो खोलेका छन्। उता देउवा पनि राईलाई आफ्नो टिममा ल्याउन पाए कोइराला समूह कमजोर बन्ने बुझाइमा छन् ।

यसअघि नेकपा भित्रको अन्तर कलहको फाइदा उठाउँदै उनी विजयी भएका थिए । यस पटक एमाले आफै विभाजित भएको र अन्यदलहरुको प्रभाव कमजोर भएको अवस्थामा उनी शक्तिशाली देखिएका छन् ।

सुनसरीमा एमालेबाट नेकपा एकीकृत समाजवादीमा जाने सबैभन्दा धेरै धरानका भएकाले उनी हौसिएका हुन्। तथापि काँग्रेस भित्रको असन्तुष्टि र महाधिवेशनको तुष मेटाउन नसके उनको उम्मेदवारी निकम्मा बन्ने देखिन्छ।