धरान : झापाको मेचीनगर नगरपालिका-७ पिपल चौकमा आगो निभाउनेक्रममा एक जनाको मृत्यु भएको छ ।

मेचीनगर-७ पिपल चौकमा केशव पाठकको घरमा आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । मृत्यु हुनेमा मेचीनगर नगरपालिका-८ का ४५ वर्षीय सारद राजवंशी रहेका छन् ।

गए राती साढे ९ बजे पाठकको टिनको छानो, चित्राको बेरा भएको १ तले कच्ची घरमा कोही नभएको अवस्थामा अचानक आगलागी हुँदा आगो निभाउने क्रममा उक्त घरमा रहेको ग्याँस सिलिन्डर पड्किदा राजवंशी लगायत १६ जना घाइते भएका थिए ।

घाइते मध्ये राजवंशीको उपचारको लागी एन्जल मेडिकल धुलाबारी पुर्याउन साथ मृत्यु भएको थियो भने अन्य घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

उक्त आगो दमकल, प्रहरी र स्थानीयको सहयोगमा राती साढे १० बजे पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ । आगो के कारणले लागेको भन्ने खुल्न नआएकोले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।