धरान : आफूलाई महामानव पिता भन्ने टिका प्रसाद विश्वकर्माले भक्तजनबाट करोडौँ ठगी गरेको पीडितले बताएका छन्।

धरानमा आज पत्रकार सम्मेलनको आयोजना गरी सुनसरीको वराहक्षेत्र नगरपालिका वडानं. ६ जब्दि जलपाई चौक स्थित महामानव वासस्थान बस्ने शिव सेवा केन्द्रको संस्थापक हुँ भन्ने अन्दाजी ७३ वर्षीय टिका प्रसाद विश्वकर्माले आफूहरूलाई १३ वर्ष अघि देखि आफू महामानव पिता भएको भन्दै विभिन्न प्रलोभन देखाई भक्तहरूलाई ठगी गर्दै आएको पीडित धरान-८ निवासी सिताराम मल्लले बताए।

उनी १३ वर्ष अघि आफन्त बिरामी भएर झारफुक गर्ने क्रममा विश्वकर्माकोमा पुगेको र आफूलाई पनि उनले बसमा पारेर करिब १४ लाख जाति ठगी गरेको मल्लले बताए । आफू धरानबाट काठमाडौँ चल्ने रात्रि बस चालक भएको र उनले विभिन्न प्रलोभन र प्रभावमा पारि १३ वर्ष सम्म विश्वकर्माले चरम आर्थिक दोहन गरेको बताए।

दैनिक बस चलाएर पाएको भत्ता दैनिकरुपमा उनलाई विश्वास गरेर चढाएको र विश्वकर्माले आफ्नो भक्त भएमा अलौकिक शक्ति प्राप्त हुने र मानवबाट दोश्रोरुप शक्तिशाली महादेव बनाउने जस्ता कुरा गरेर ठगी गरेको मल्लको भनाई थियो ।

यसै गरी अर्का पीडित धरान-१६ की सरिता लामिछाने पनि आफू बिरामी भएर विश्वकर्माकोमा झारफुक गर्नेक्रममा पुगेकी थिइन् । उनलाई पनि विभिन्न चाहानामा ठगी गरेको पत्रकार सम्मेलनमा बताइन् ।

धरान-१० का पटेल सिंहले पनि आफ्नो श्रीमती बिरामी भएर झारफुक गर्नेक्रममा विश्वकर्माकोमा पुगेको र उनलाई पनि त्यसै गरी विभिन्न चाहानामा ठगी गरेको बताए । धरान १९ का अर्का पीडित खड्गबहादुर विश्वकर्माले चतरा नजिकैको पुल्ठेगौडामा रहेको आफ्नो फुपूले भोग चलन गर्दै आएको करिब डेढ बिघा जग्गा समेत फुपूलाई अचेत पारेर सहीछाप गराएर कब्जा गर्न खोजेको बताए।

बिरामी भएर थलिएकी फुपूलाई उपचारका लागि धरान ल्याउन खोज्दा पनि महामानव पिता भनिने टिकाप्रसाद विश्वकर्माले ल्याउन नदिएको र पछि जसोतसो धरान ल्याएर उपचार गरेर अहिले होसमा आएको बताएका छन् ।

यसरी आफूहरू विभिन्न बहाना र प्रलोभनमा परेर ठगिएको भन्दै पीडितहरूले धरानमा पत्रकार सम्मेलनको आयोजना गरी आफू पीडित भएकोले कहीँ कतैबाट आफ्नो समस्याको सुनवाइ नभएको बताए । जिल्ला प्रशासन कार्यालय इनरुवा, इलाका प्रहरी कार्यालय महेन्द्रनगर र वराहक्षेत्र नगरपालिकामा समेत पीडितले उजुरी दिँदा समस्याको बारेमा सम्बन्धित निकायले चासो नलिएकोले झन् आफूहरू पीडित भएकोले पत्रकार सम्मेलन गर्नुपरेको पीडितहरूले बताए ।

टिका प्रसाद विश्वकर्मा पछिल्लो समय असार साउन देखि काठमाण्डौको बल्खुमा बस्न थालेको बताइएको छ । उनको विरुद्धमा उजुरी दिँदा पनि प्रशासनले वास्ता नगरेको बताइएको छ ।

सप्तकोसीमा देउता प्रकट !

आफूलाई महामानव पिता भन्ने टिका प्रसाद विश्वकर्माले भक्तजनहरूलाई साक्षात् देउताको दर्शन गराउने भनेर राति सप्तकोशी नदीमा देउता देखाउने गरेका थिए ।

उनका मूल पुजारी मङ्गलमान मगर सँग विभिन्न नामका देवी देवताहरू रातको समयमा शरीरमा कम्मर देखि माथि केही पनि वस्त्र नलगाएको अवस्थामा प्रकट भएको देखाउने गर्दथे । भक्तजनहरूले राति अँध्यारोमा देख्दा साँच्चै भगवाननै प्रकट भएको महसुस गरेर आफूले लगाएको सुन समेत दिएको एक पीडितले बताए ।

तर उनीहरू भगवान् देउता नभएर उनले आफ्नो आफन्तलाई आफ्नो सहयोगीहरूसँग मिलेर अभिनय गर्न लगाएको पत्ता लागेको बताए ।

विश्वकर्माका भक्त को-को छन् त ?
विश्वकर्मा आफू महाशक्तिशाली र महामानव पिता बताउने उनले पृथ्वी लोक देवलोकमा समेत आफ्नो वर्चस्व कायम गर्ने गरेको बताउँदै उनले भक्तजनबाट विभिन्न भौतिक निर्माण गर्नुपर्ने भन्दै पैसा उठाउने गरेका थिए ।

अझ कोरोना महामारीबाट पापीहरू नष्ट गर्न आफूले निर्णय गरेको समेत बताएका थिए । भक्तजनले साढे ७ कठ्ठा जग्गा २५ लाखमा खरिद गरेको बताइएको छ । सो जग्गा निलम माया मगरको नाममा रहेको बताइएको छ । विश्वकर्माको भक्तहरू सुनसरीमा कहलिएका व्यक्तिहरू रहेको बताइएको छ ।

उनले चक्रघट्टी बजार देखि पश्चिमबाट केही उत्तरमा कोशी किनारमा महामानव पिता लेखिएको साइनबोर्ड राखिएको स्थानमा पक्की मन्दिर समेत निर्माण गरेका छन् । उनको सम्पत्ति सुद्धिकरण गर्नुपर्ने र आफूहरू भक्तको नाममा ठगिएको भन्दै पीडितले आफ्नो समस्या सम्बोधन हुनुपर्ने माग गरेका छन् ।