धरान : धरान खानेपानी व्यवस्थापन बोर्डले चार कोशे जङ्गल क्षेत्रबाट ल्याइने खानेपानीको मुख्य ट्रङ्क लाइन (पाइप) मा लिकेज भएपछि त्यसको रोकथाम गर्नका लागि आजदेखि मर्मत कार्य सुरु गरेको छ ।

बोर्डका अनुसार खानेपानीको ट्रङ्क लाइन पुरानो फुटेको भएको कारणले गर्दा लिकेजको समस्या भएको हो । चार कोशे जङ्गलको १ नं. वेल हाउसको मुख्य ट्रङ्क लाइनमा स्लुईस भल्भ बिग्रिएर खानेपानी चुहावट भएको कारण ट्रङ्क लाइनमा नयाँ स्लुईस भल्भ राख्नका लागि आज बिहानैदेखि काम थालिएको बोर्डका कार्यकारी निर्देशक राजु पोख्रेलले बताए ।

चार कोशे जङ्गलबाट ल्याइने मुख्य ट्रङ्क लाइनको पाँच स्थानमा लिकेज भएको छ भने यता धरान क्षेत्रको बरगाछी चौक र धनकुटे रोडमा लिकेज भएको छ । उक्त स्थानमा वेल्डिङ गरेर लिकेज बन्द गर्ने कार्य धमाधम सुरु गरिएको पनि पोख्रेलले बताए । उनका अनुसार २४ घण्टाभित्र मर्मत कार्य सकिने छ ।

फुटेको ट्रङ्क लाइनमा वेल्डिङ गरिसके पछि १० देखि २० प्रतिशत सम्म पानीको उत्पादन बढ्ने उनले जानकारी दिए ।

खानेपानी लिकेज भएको मुख्य ट्रङ्क लाइनको मेयर तिलक राईले आज स्थलगत रूपमा अनुगमन गरेका थिए । अनुगमनको क्रममा बोर्डका अध्यक्ष समेत रहेका मेयर राईले लिकेज भएको स्थानको चाँडै मर्मत कार्य सक्न निर्देशन दिए ।

यस्तै, ८ नं. वेल हाउसमा जडान गरेको एक महिना नबित्दै मोटर जलेको कारण समस्या भएको बोर्डका इन्जिनियर प्रशान्त अधिकारीले जानकारी दिए । उनले त्यहाँ नयाँ मोटर जडान गर्नका काम सुरु भएको बताए ।

उनले जङ्गल क्षेत्रमा रहेको वेल हाउसमा राखिएको ट्रान्सफर्मरहरू सुरक्षित नभएको बताउँदै अहिले ४ वटा वेल हाउसमा अर्थिङ लगाई सकिएको बताए । बाँकी २ वटा वेल हाउसमा अर्थिङ लगाउने कार्य भइरहेको उनले जानकारी दिए ।

Khanepani