चतरा : सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं २ मा रहेको चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा दोस्रो कार्यकालका लागि पुन: सिता भण्डारी पौडेल निर्वाचित भएकी छिन् ।

बिहीबार संस्थाको २३ औँ संस्थापना दिवस तथा २३ औँ वार्षिक साधारण सभा कार्यक्रममा निर्वाचन अधिकृत प्रह्लाद भट्टराईले संस्थाको ३ वर्षका लागि अध्यक्षमा भण्डारी सर्वसम्मत चयन भएको बताए ।

अध्यक्षमा भण्डारी सहित उपाध्यक्षमा दीपक कार्की , सचिव शर्मिला राई , कोषाध्यक्ष टेकमाया पाण्डे , सदस्यहरू मीनबहादुर बानियाँ, ज्ञानेन्द्र गौतम , कमला विष्ट ,सोनु बिश्कर्मा पुजा कुमारी धामी, गायत्रादेवि खतिवडा , रञ्जना विष्ट , लेखा सुपरिवेक्षण समितिको संयोजकमा नरकुमार राई, सदस्य बिन्दा न्यौपाने र मेनुका कोइराला पराजुली सर्वसम्मत भएको निर्वाचन संयोजक भट्टराईले बताए ।

निर्वाचित समिति संयोजक भट्टराईले बिहिबारनै सञ्चालक समितिका पदाधिकारी एव लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरूलाई प्रमाणपत्र तथा शपथ ग्रहण गराएका छन् ।

वराहक्षेत्र-१ स्थित औलिया मठ स्थित बोलबम धर्मशालामा आयोजना भएको साधारण सभामा अध्यक्ष सीता भण्डारी पौडेलले सहकारीको वार्षिक प्रगति विवरण र भावी योजना प्रस्तुत गरेकी थिइन । लेखा सुपरिवेक्षण समिति संयोजक रमेश चौहानले लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । लेखा प्रमुख शैलेन्द्र राउत लेखा परीक्षकको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थामा हाल शेयर सदस्य ४ हजार ७ सय ३२ जना रहेको र शेयर पुजी ८ करोड ८८ लाख ४३ हजार २ सय , बचत निक्षेप हिसाब कुल १ अर्ब २ करोड ४८ लाख ४० हजार ९ सय ९० रहेको छ । संस्थाको वार्षिक प्रतिवेदन अनुसार कर्जा लगानी कुल ६३ करोड १ लाख २६ हजार १ सय १८ रुपैयाँ, संस्थाले ४७ करोड ३० लाख ५८ हजार ६ सय ९३ रुपैयाँ कर्जा असुली गरेको छ ।

संस्थाको कुल नाफा १६ करोड २ लाख ५६ हजार ५ सय ७७ रुपैयाँ आम्दानी रहेको र खर्च तर्फ १३ करोड १६ लाख ७ हजार ९९ रुपैयाँ खर्च भई ५ प्रतिशत आयकर पछि संस्थाको खुद नाफा २ करोड ७२ लाख १७ हजार संस्थाले बचत गरेको छ ।

संस्थाले मृत्यु राहत कोष कार्यक्रममा ५ लाख १८ हजार २० जना सेयर सदस्यहरू मृत्यु हुँदा उपलब्ध गराएको र संस्थाले बिना धितो ५ लाख सम्म दिने र धितो राखेर अधिकतम सीमा ५० लाख दिने गरेको प्रतिवेदन मार्फत जानकारी दिएको छ ।

कार्यक्रममा अध्यक्ष भण्डारीले ३ वर्षमा सहकारीबाट प्राप्त भत्ता पती स्वर्गीय दलबहादुर पौडेलको हिरा स्मृतिमा ४ लाखको अक्षय कोष समेत घोषणा गरेकी छिन् । उक्त अक्ष कोषको ब्याजबाट वार्षिक रूपमा सहकारीका एकल महिला शेयर सदस्यका छोराछोरीलाई छात्रवृत्ति उपलब्ध गराइने छ ।

साधारण सभाबाट संस्थापक अध्यक्ष रेनुका निरौला घिमिरेलाई सम्मान समेत गरिएको थियो । सहकारीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बीपी आधारभूत विद्यालयका बिद्यार्थीहरुलाई जाडोको लागि ट्रयाकसुट र ब्याग वितरण गरिने सहकारीका उपाध्यक्ष दीपक कार्कीले बताए ।

कार्यक्रम वराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालको प्रमुख अतिथि रहेका थिए । अध्यक्ष सीता भण्डारी पौडेको सभाध्यक्षमा सञ्चालन भएको कार्यक्रम सञ्चालक सचिव पवित्रा राईले गरेकी थिइन् । साधारण सभाबाट उत्कृष्ट बचतकर्ता , कारोबारी , असल ऋणीलाई कदर समेत गरिएको थियो ।