विराटनगर : १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा सञ्चालित प्राविधिक प्रहरी जवान दोस्रो समूहको आधारभूत तालिममा सहभागी ४८ जना प्रहरी जवानहरू दीक्षित भएका छन् ।

बिहीबार बिहान तालिम केन्द्रको खेल मैदानमा एक कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीको प्रमुख आतिथ्ययतामा दीक्षान्त समारोह सम्पन्न भएको हो । २०७८ भाद्र २७ गते देखी सञ्चालित प्राविधिक प्रहरी जवान दोस्रो समूहको ९० कार्य दिनको आधारभूत तालिम पौष २२ गते सम्म सञ्चालन भएको थियो ।

दीक्षान्त समारोहमा तालिम केन्द्रका प्रहरी निरीक्षक सुजता तुम्बाहाम्फेले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । ९० दिनको तालिम अवधिमा प्रशिक्षार्थीहरूलाई नेपाल प्रहरी सङ्गठनको परिचय, सुरक्षा, विद्यामान कानुन र सूचना प्रविधि लगायतका विषयमा प्रशिक्षण दिइएको जानकारी गराइन् ।

दीक्षान्त समारोहमा १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक मिरा चौधरीले प्रशिक्षार्थीहरूलाई नेपालको संविधान बमोजिम शपथ ग्रहण गराउनुका साथै दीक्षित भई जाने प्रहरी जवानहरूले तालिम अवधिमा सिकेका ज्ञान र सिपको कार्य क्षेत्रमा अक्षरशः पालना गरेमा नेपाल प्रहरीको चुनौतीको विषय रहेको अपराध अनुसन्धानमा थप टेवा पुग्ने विश्वास व्यक्त गरी दीक्षित भई जाने प्रहरी जवानहरूलाई कार्यक्षेत्रको सफलताको शुभकामना समेत दिएका छन् ।

उक्त तालिमका प्रशिक्षार्थीहरू मध्ये सर्वप्रथम हुने प्रशिक्षार्थी प्रहरी जवानलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले प्रमाणपत्र तथा नगद पुरस्कारद्वारा पुरस्कृत गरेका थिए । प्रमुख अतिथिको आसनबाट बोल्दै प्रहरी नायव महानिरीक्षक बिसीले कोभिड-१९ को उत्पन्न परिस्थितिमा सुरक्षाको कारण प्रशिक्षार्थीहरूका अभिभावक तथा अन्य इष्टमित्रलाई समारोहमा आमन्त्रण गर्न नसकिएको प्रति दुःख लागेको बताउँदै, अत्यन्त चुनौती एवं जोखिमले भरिएको यस मर्यादित प्रहरी पेसामा आफ्ना सन्ततिलाई प्रवेश गर्न हौसला प्रदान गर्नु हुने दीक्षित प्रहरीका परिवारजनहरूमा आभार प्रकट गरे ।

साथै उनले कार्यक्षेत्रमा मन बचन र कर्मले निष्ठापूर्वक, ईमान्दार र बफादारी भई उच्च मनोबलका साथ जनताको सेवामा खटिन दीक्षित प्रहरी जवानहरूलाई शुभकामना सहितको निर्देशन दिए ।

दीक्षान्त समारोहमा प्रमुख अतिथि लगायत प्रहरी वरिष्ठ उपरीक्षकहरू, प्रहरी उपरीक्षकहरू, प्रहरी नायव उपरीक्षकहरू तथा प्रहरी निरीक्षकहरूका साथै अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।