विराटनगर : प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले जिल्ला अस्पताल इनरुवामा बिहीबार बिहान छड्के अनुगमन गरेका छन् ।

इनरुवा अस्पतालमा आएका बिरामीलाई अन्यत्र रेफर गर्ने गुनासो बढेपछि मन्त्री यादव बिहानै अस्पताल पुगेका थिए ।

मन्त्री यादवले अस्पतालको फार्मेसी कक्ष, बिरामीको अवस्था, सरसफाइ, एक्स-रे कक्ष लगायतका कोठाहरूमा पुगेर अनुगमन गरेको मन्त्रीका स्वकीय सचिव देवेन्द्रप्रसाद यादवले जानकारी दिए । मन्त्री यादवसँगै सुनसरीको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पनि अनुगमन गरेका थिए ।

अनुगमनका क्रममा विशेषज्ञ चिकित्सकको अभाव, सरसफाईमा कमी, औषधीको अभाव लगायतका समस्याहरू देखा परेको मन्त्री यादवले बताए । उनले इनरुवा अस्पताललाई सुधार गर्ने आफ्नो प्रमुख जिम्मेवारी भएको बताए ।

इनरुवा अस्पतालबाट बिरामी अन्यत्र लैजाने समस्याको समाधान गरिने मन्त्री यादवले बताए । उनले भने,‘ अस्पतालमा धेरै सुधारको आवश्यकता छ ।’ मन्त्री यादव सहित मन्त्रालयका कर्मचारीहरूले यसअघि अस्पतालको अनुगमन सहित सरोकारवालासँग अन्तरक्रिया गरेका थिए ।