धरान : सङ्खुवासभाको खाँदवारी नगरपालिका–१ बसपार्क स्थित सडक किनारमा बेवारिसे अवस्थामा रहेको अवैध औषधी तथा क्लिप प्रहरीले बरामद गरेको छ ।

पौष २१ गते बस पार्क स्थित सडक किनारमा बेवारिसे अवस्थामा अवैधरुपमा भन्सार छली ल्याएको रुद्राक्षको दाना च्याप्न प्रयोग गरिने क्लिप १२ बोरा ९ हजार ५ सय २० पिस, कृषि बालीमा प्रयोग हुने औषधी– PBOG ४ कार्टुन (१ सय १६ प्याकेट), KH2PO १५ प्याकेट, SILILONG २० बोतल र WATERPUMP लेखिएको मेसिन १ थान फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट खटिएको प्रहरीको गस्ती टोलीले बसपार्क स्थित सडक किनारबाट उक्त अवैध औषधी तथा क्लिप अन्दाजी ३ लाख ६३ हजार २ सय ५० रुपैंया बरावरको बरामद गरेको हो । बरामद गरिएका अवैध समानहरूलाई राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।