धरान : नेपाली काँग्रेस सुनसरी क्षेत्र नंं.१ को क्षेत्रीय कोषाध्यक्षमा सुवर्ण श्रेष्ठ मनोनीत भएका छन् ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको बैठकमा सभापति तामाङले श्रेष्ठलाई कोषाध्यक्षमा मनोनीत गर्न गरेको प्रस्तावलाई बैठकले सर्वसम्मत पारित गरेपछि श्रेष्ठ कोषाध्यक्ष मनोनीत भएका हुन् ।

काँग्रेसको विधानमा सभापतिले बैठकमा निर्वाचित सदस्य मध्येबाट कोषाध्यक्षका लागि नाम प्रस्ताव गर्ने र बैठकले निर्णय गर्ने प्रावधान रहेको छ । श्रेष्ठ यस अघि धरानका नगर कोषाध्यक्ष रहेका थिए ।

बैठकले क्षेत्रीय कार्यसमितिको, महाधिवेशन प्रतिनिधि एवम् प्रदेश अधिवेशन प्रतिनिधिको, प्रदेशसभा, प्रतिनिधिसभा, राष्ट्रियसभाका सदस्य एवम् उम्मेदवार तथा निर्वाचित जनप्रतिनिधिको र वडा सभापतिको नियमित बैठक गर्ने तालिका निर्धारण गर्नुका साथै बधाई, शुभकामना तथा धन्यवाद कार्यक्रम र वनभोज कार्यक्रमको आयोजना गर्ने समेत निर्णय गरेको क्षेत्रीय सचिव महेन्द्र प्रधानले बताए ।

बैठकले मासिक सहयोग रकम (लेवी) निर्धारण गर्ने, सचिव महेन्द्र प्रधानको संयोजकत्वमा सचिव केशव पुरी, कोषाध्यक्ष सुवर्ण श्रेष्ठ, सहसचिवद्धय भोजराज न्यौपाने र सुमित राई रहेको कार्यालय सञ्चालन तथा व्यवस्थापन समिति गठन गर्ने, वार्षिक कार्यक्रमको क्यालेन्डर निर्माण गर्ने, सङ्गठन विस्तार र सशक्तीकरणका कार्यक्रमहरू गर्ने समेत निर्णय गरेको छ।

बैठकले हालै सम्पन्न १४औँ महाधिवेशनमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने पार्टीका क्रियाशील सदस्य, क्षेत्रीय प्रतिनिधि, निर्वाचन समिति, सुरक्षा निकाय, पत्रकार लगायत सबैलाई धन्यवाद प्रकट गरेको छ ।

बैठकमा प्रदेश सांसद चन्द्र प्रसाद श्रेष्ठ, महाधिवेशन प्रतिनिधिहरू पर्वत राई, श्यामा रेग्मी, विकास आचार्य, ममता तामाङ, ललिता अधिकारी, निर्मला शाक्य, पूजा धामी, रवि राई, राजु शाह लगायत क्षेत्रीय पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो ।