धरान : सुनसरी, उदयपुर र पाँचथरमा भएको छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ ।

शुक्रवार बेलुका सँवा ४ बजे सुनसरीको दुहबी नगरपालिका १० बुद्ध चोक स्थित इनरुवा-दुहबी सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ५ ख ४८३९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको को ७ प ३८५९ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा घाइते भएका मोटरसाइकलमा सवार दुहबी नगरपालिका ११ तनमुना का २८ वर्षीय जित नारायण उरावको विराट नरसिंह होम विराटनगर उपचारको क्रममा बेलुका साढे ५ बजे मृत्यु भएको छ भने अर्का मोटरसाइकल सवार रंगेली नगरपालिका-९ का ३० वर्षीय भीम प्रसाद उरावको सोही अस्पतालमा उपचार भइरहेको छ ।

ट्रक र ट्रक चालक उदयपुर कटारी नगरपालिका-५ का २४ वर्षीय सागर मगर इलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा रहेको छ । यसै गरी हिजै बेलुका साढे ५ बजे उदयपुर त्रियुगा नगरपालिका–४ बगाहा स्थितमा गाईघाटबाट जलजले तर्फ जाँदै गरेको प्र २-०१-००३ प ८४९१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स १ ख ७२१ नम्बरको ट्रिफर ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक त्रियुगा नगरपालिका ५ देउरी का ३२ वर्षीय प्रभु नारायण चौधरी र पछाडि सवार सोही स्थानका ३१ वर्षीय दिलीप दुलाल घाइते भई उपचारको लागी न्युरो अस्पताल विराटनगर पठाइएको थियो ।

घाइते मध्ये दिलीप दुलालको उपचारको क्रममा गए राती ९ बजे मृत्यु भएको छ भने अर्का घाइतेको उपचार भइरहेको छ । ट्रिफर र ट्रिफर चालक त्रियुगा नगरपालिका–६ लालपत्ताका ३६ वर्षीय मेख बहादुर राउत जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
यसै गरी पाँचथरको फालेलुङ गाउँपालिका ७ फर्तिमा टोल का ३५ वर्षीय राज कुमार तामाङको भिरबाट लडेर मृत्यु भएको छ ।

हिजो बेलुका ५ बजे आफ्नै पाखा बारीमा घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते भएका तामाङको उपचारको लागी जिल्ला अस्पताल पाँचथर फिदिम तर्फ ल्याउने क्रममा बेलुका ७ बजे बाटोमा नै मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी सिदिन र जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटी गई थप अनुसन्धान गरिरहेको छ ।