धरान : नेकपा एमाले सुनसरी जिल्ला अधिवेशन अन्तर्गत बन्द सत्र सुरु भएको छ ।

हिजोबाट सुरु भएको सातौँ जिल्ला अधिवेशनको बन्द सत्रमा पार्टीका केन्द्रीय सदस्य तथा पार्टीका इन्चार्ज जगदीश कुसियैतको अध्यक्षतामा ११ सदस्यीय अध्यक्ष मण्डल गठन भएको छ । बन्द सत्रमा अध्यक्ष कुसितले पेस गरेको आचार संहिता समेत प्रतिनिधिबाट पारित भएको छ ।

बन्द सत्रले सकेसम्म सहमतिमा जिल्ला नेतृत्व सहित पदाधिकारी तथा सदस्य चयन गर्ने छ । सहमति नभए जिल्ला भरका प्रतिनिधिले प्रत्यक्ष चुनावबाट नेतृत्व चयन गर्ने छन् ।

एमालेको सुनसरी जिल्लाको नेतृत्व सर्वसम्मत चयन गर्ने कसरत भइरहेको छ । नेतृत्व चयनको बारेमा नेताहरूबिच विभिन्न कोणबाट छलफल भइरहे पनि सहमति जुट्न अझै सकेको छैन ।

अध्यक्षको आकांक्षीमा ४ जनाको नाम चर्चामा भए पनि अध्यक्ष खेमराज पोखरेल पुर्वअध्यक्ष रेवती रमण भण्डारी पनि अध्यक्षका प्रमुख दाबेदार हुन् । यस्तै, द्धारिकलाल चौधरी र रामप्रसाद चौलागाईको पनि चर्चा छ । तर, पोखरेल र भण्डारीमध्ये एक अध्यक्ष हुने नेताहरू बताउँछन् ।