धरान : किरातीहरुको नयाँ वर्षको अवसरमा आयोजित थ्री बाइ थ्री अन्तर प्लस टु महिला बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ।

किरात राई यायोक्खा, सुनसरीको आयोजनामा आज आयोजित एक दिने थ्री बाइ थ्री प्रतियोगिताको उपाधि धरान आदर्श कलेज 'ए' टिमले उचालेको छ। उपाधिका लागि आदर्शले विष्णु मेमोरियल ए टिमलाई ८-५ अङ्कको अन्तरले पराजित गरेको थियो। उपाधि विजेता टिमले नगद ५ हजार रुपैयाँ र उपविजेता टिमले नगद ३ हजार रुपैयाँ, ट्रफि र प्रमाण पत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी विष्णु मेमोरियल ए टिमकी निवा चेम्जोङ घोषित भइन । उनले नगद एक हजार र प्रमाणपत्र प्राप्त गरिन । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल बास्केटबल सङ्घका उपाध्यक्ष सुरजकुमार लामा, यायोक्खा सुनसरी अध्यक्ष राजेन्द्र राई, उपाध्यक्ष सुमित्रा राई र सचिव नवीन राईले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा धरान आदर्श एले धरान आदर्श विटिमलाई र विष्णु मेमोरियलले होलिल्याण्ड स्कुललाई सेमिफाइनल खेलमा पराजित गर्दै फाइनल प्रवेश गरेका हुन । प्रतियोगिताको सम्पूर्ण खेल धरान १९ स्थित हरियाली सामुदायिक वनको बास्केटबल कोर्टमा सम्पन्न भएको थियो ।

माघ १ लाई किरातिहरुको नयाँ वर्ष यलम्वर संवत् ५०८२ (यलेदोङ) मान्दै आइरहेको किराया सुनसरीले नयाँ वर्षलाई भव्य रूपमा मनाउने अभियान सहित प्रतियोगिता आयोजना गरिएको हो । विगतका वर्षमा एक दिनको कार्यक्रम गरेर मनाउँदै आइरहेको किराया सुनसरीले यस पटक भने भव्य रूपमा नयाँ वर्ष मनाउन किरात समुदायलाई आह्वान गर्दै सात दिने कार्यक्रम आयोजना गरिरहेको छ ।

सात दिने कार्यक्रम अन्तर्गत कार्यक्रम प्रचारका लागि पत्रकार सम्मेलन, नेपाल पत्रकार महासङ्घ, सुनसरी टिमसंंग मैत्रीपूर्ण खेल र आज शनिवार एक दिने बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ। यस सँगै किरातिहरुको घरघरमा यायोक्खाको झण्डा फहराउने, किरात नयाँ वर्षको शुभकामना सन्देश सँगै ८२ वटा बेलुन किरातिहरुको ऐतिहासिक स्थल विजयपुर डाडावाट उडाउने, किरातीहरुको घरमा दिपावालि गर्ने र पौष ३० गतेको दिन धरानको भानु चौकमा विभिन्न जातिको परिकार स्टल सहितको भव्य स्टेज निर्माण गरिने छ ।

११ बजे देखि साकेला नाच हुने, कार्यक्रममा किरात प्रदेश किन ? भन्ने विषयमा मदन पुरस्कार विजेता साहित्यकार राजन मुकारुङद्वारा कार्यपत्र प्रस्तुत गर्ने र साँझ नेपालकी चर्चित कलाकार मेलिना राई, हास्य कलाकार विल्सन विक्रम राई तोक्मे वुढा र स्थानीय कलाकारहरूको प्रस्तुतिमा रमाउँदै किरातिहरुको नयाँ वर्ष यलम्वर संवत् ५०८२को स्वागत गर्ने कार्यक्रम रहेको छ ।

किरात संस्कृति पर्वद्धन सँगै १ न. प्रदेश, किरात प्रदेश अभियानलाई जोडेर यायोक्खाले नयाँ वर्ष भव्य रूपमा मनाउन लागेको हो ।