धरान : स्थानीय सरकारले गरेको निर्णय विपरीत शुल्क वृद्धि गरेका धरानका विद्यालयहरूको विद्यार्थी सङ्गठनहरूले अनुगमन गर्दैछन् ।

संयुक्त विद्यार्थी सङ्गठन धरानले आइतबार महेन्द्र बहुमुखी क्याम्पस धरानमा पत्रकार सम्मेलन गर्दै निर्णय विपरीत शुल्क लिने विद्यालयहरूको छानबिन र अवलोकन गरेर ती विद्यालय विरुद्ध आन्दोलन गर्ने घोषणा गरेको थियो ।

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बुद्रोस लिम्बुले धरान उपमहानगरपालिकाले शिक्षा नीति नल्याउँदा पनि समस्या भएको भन्दै स्थानीय सरकारले गरेको निर्णय विपरीत शुल्क लिने विद्यालयविरुद्ध विद्यार्थी सङ्गठनहरू आन्दोलित हुने बताए ।

लिम्बुका अनुसार धरानको विष्णु स्कुलले शुल्क वृद्धि गरेको बारेमा अभिभावकहरूले उपमहानगरपालिकामा गुनासो गरेको र विद्यार्थी सङ्गठनहरूले पनि शिक्षा महाशाखाको ध्यानाकर्षण गराए पनि अहिलेसम्म चासो नदेखाएकोले विद्यार्थी सङ्गठनहरू आन्दोलित भएको लिम्बुले बताए ।

‘धरानको केके इन्टरनेशनल स्कुलले सेक्युरिटी डिपोजिट भनेर १० हजार र होस्टेल फि भनेर १७ हजार ४ सय रुपैयाँ एक महिनाको लिएको प्रमाण पाएका छौ, त्यसैले आज हामी अनुगमन गर्न जाँदा गतिलो प्रमाण नभेटिएको र साँझ सम्ममा पठाइदिने बताएको अनुगमनमा रहेका लिम्बुले बताए ।

धरानका केही ठुला स्कुलहरूले महँगो शुल्क लिएको गुनासो आइरहेको कारण ती स्कुलहरूमा जाने, प्याब्सन र एन प्याब्सनलाई शुल्क समायोजन गर्न लगाउन आग्रह गर्ने, नियामक निकाय स्थानीय सरकारलाई निरन्तर ध्यानाकर्षण गराउने र सम्बन्धित विद्यालयमा पनि पुगेर दबाब दिने लगायतको कार्यक्रमहरू गर्ने संयुक्त विद्यार्थी सङ्गठनले पत्रकार सम्मेलनमा जनाएको छ ।

जब सम्म स्थानीय सरकारले गरेको निर्णय विपरीत शुल्क वृद्धि गरी शुल्क लिने विद्यालयहरूको छानबिन नहुन्जेल सम्म विद्यार्थी संयुक्त विद्यार्थी सङ्गठनहरूले अनुगमन सँगै आन्दोलनका कार्यक्रमहरू जारी राख्ने जनाएको छ । यो समाचार तयार पारुन्जेल संयुक्त विद्यार्थी सङ्गठनको समूह विष्णु स्कुलमा आइपुगेको छ ।

Press-Bigyapti-1 MMC