धरान : कोभिड-१९ सङ्क्रमण रोकथामका लागि भन्दै हिजो बसेको कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सिफारिस गरे पनि सुनसरीमा भने विद्यालय सञ्चालन हुने भएको छ ।

सिसिएमसीले कोरोना संक्रमणदर बढेको भन्दै विद्यालय बन्द गर्न सिफारिस गरेको भए पनि शिक्षा मन्त्रालयले कुनै सर्कुलर जारी नगरेकोले सुनसरीमा मन्त्रालयबाट सर्कुलर नआउन्जेल विद्यालय सञ्चालन हुने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रमेश दाहालले बताए ।

चारै तिरबाट विद्यालय बन्द गर्न नहुने प्रतिक्रियाहरू आइरहेको र शिक्षा मन्त्रालयबाट जिल्लामा सकुर्लर जारी नभएकोले विद्यालय बन्द गर्ने नगर्ने भन्ने निर्णयमा नपुगेको प्रमुख दाहालले बताए । तर हिजो कोभिड-१९ सङ्क्रमण रोकथामका लागि भन्दै गरिएको सिफारिसको कारण विद्यार्थी र अभिभावकहरू भने विद्यालय लाग्ने नलाग्ने भन्नेबारेमा अन्योलमा रहेका छन् ।

यसै गरी हिजो नै अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्नसमेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको छ ।

यसबारेमा पनि जिल्ला प्रशासन कार्यालयहरूमा गृह मन्त्रालयबाट सकुर्लर जारी नभएकोले यो निर्णय पनि कार्यान्वयन हुने नहुने टुङ्गोमा नपुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।