खाँदबारी : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकारले स्थानीय तहको निर्वाचन समयमा नगराएर कर्मचारीबाट चलाउने षड्यन्त्रमा लागेको बताएका छन् ।

सङ्खुवासभाको खाँदबारीमा आयोजित एमालेको आठौँ जिल्ला अधिवेशनको उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले मुलुकको समृद्धि, विकास र राष्ट्रियताको पहरेदारीका लागि आफ्नो पार्टी निर्विकल्प भएको जिकिर गर्दै अन्य पार्टीमा रहेका नेता—कार्यकर्तालाई एमालेमा सामेल हुन आग्रह गरे ।

उनले अन्य पार्टीमा रहेर त्यहाँको विचार र व्यवहारको परीक्षण गरेर एमालेमा प्रवेश गर्ने नवप्रवेशीहहरुलाई कहिल्यै पश्चात्ताप नहुने स्पष्ट पारे । “वामपन्थीको खोल ओढेर दक्षिणपन्थी खेमामा आफूलाई समाहित गर्ने नक्कली पार्टीहरूमा अब कोही पनि अलमलिइरहनु पर्दैन । आउनुस्, एमालेमा हामी स्वागत गर्न चाहन्छौँ ।

एमाले मात्रै देशमा सामाजिक न्याय, समानता र परिवर्तन दिन सक्ने पार्टी हो ।” अध्यक्ष आलीले भने–“नेपालमा लोकतान्त्रिक आन्दोलन ध्वस्त भएको बेलामा हामीले सानो शक्तिबाट झापा विद्रोहका नाममा सङ्घर्षको बिगुल फुकेका थियौँ ।

अहिले हामी जनतालाई अधिकार र सेवा दिन सक्ने हैसियतमा छौँ तर कम्युनिस्ट र विकास विरोधी तत्त्वहरूले हामीलाई चुनावमा जान बाटो छेकेर घेराबन्दी गर्न कोसिस गरेका छन् । हामी यो स्थितिको सामना गरेर फेरि जनादेशबाट सरकारको नेतृत्वमा पुग्नेछौँ ।”

अध्यक्ष ओलीले समयमा स्थानीय तहको निर्वाचन नगराएर ती तहलाई जनप्रतिनिधि बनाएर कर्मचारीको भरमा चलाउने षड्यन्त्र गरेको आरोप लगाउँदै देशलाई स्वाभिमानपूर्वक सुशासन र विकासको बाटोबाट ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन जनताले पुनः एमालेलाई सरकारको नेतृत्वमा स्थापित गर्ने विश्वास व्यक्त गरे ।

उनले खाँदबारी–किमाथाङ्का सडकको बाँकी १४ किलोमिटर बाटो बनाउन आफ्नो नेतृत्वको सरकारले नेपाली सेनालाई जिम्मेवारी दिएको र विराटनगरदेखि किमाथाङ्कासम्म चल्ने अन्तर्राष्ट्रियस्तरको मार्ग चाँडै खुल्ने जनाए । सङ्खुवासभामा रहेको ९०० मेगावाट क्षमताको अरुण-३ जलविद्युत आयोजनाको आफूले प्रधानमन्त्री हुँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेको र जिल्लालाई यहाँका उत्पादन र रोजगारीको सम्भावनालाई उजागर गर्ने एमालेको अवधारणा रहेको बताए ।

जिल्लामा विदुषी योगमाया आयुर्वेदिक विश्वविद्यालय खोल्न आफूले थालनी गरेको र त्यसले नेपालको आयुर्वेदिक चिकित्सा प्रणालीलाई विश्व सामु चिनाउन समर्थ हुने बताए । शिक्षा तथा स्वास्थ्य पर्यटन, औषधालय र कृषि उत्पादन आदि क्षेत्रमा सङ्खुवासभा प्रचुर सम्भावनायुक्त जिल्ला भएकाले ती सम्भावनालाई उज्यलाउन एमाले नेतृत्वको सरकार बन्नुपर्ने बताए ।

अध्यक्ष ओलीले एमालेको काँधमा रहेको देश बनाउने अभिभारा पूरा गर्न नदिने बाधा-व्यवधान पन्छ्याउने गरी सहमतिका आधारमा जिल्ला अधिवेशन सम्पन्न गराउन आग्रह गरे ।

कार्यक्रममा समृद्धि र राष्ट्रियताका सन्दर्भमा विगतमा सरकारको नेतृत्वमा रहँदा मुलुक र जनताका लागि उल्लेखनीय कार्यको अगुवाइ गरेको जनाउँदै अध्यक्ष ओलीलाई अभिनन्दन गरिएको थियो ।