धरान : टेन्ट व्यवसायी समाज धरानले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

टेन्ट व्यवसायी समाज धरानमा पहिलो पटक दर्ता भएको उपलक्ष्यमा सोमबार धरान-१ स्थित छाताचौकमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

टेन्ट व्यवसायी सङ्घका सल्लाहकार जय प्रकाश शर्माका अनुसार रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत सङ्कलन भएको थियो । रक्तदाताहरूलाई कार्यक्रमका प्रमुख अतिथि धरानका मेयर तिलक राईले प्रमाण पत्र प्रदान गरेका थिए ।

धरान अत्यन्तै क्रियाशील ठाउँ भएको बताउँदै मेयर राईले भने, ‘धरानका राजनीतिक दलहरू मात्र हैन, यहाँका सम्पूर्ण सामाजिक सङ्घ संस्थाहरू, उद्योग वाणिज्य सङ्घ, व्यापार, व्यवसायीहरू, विभिन्न वर्गीय सङ्घ सङ्गठनहरू अत्यन्तै क्रियाशील छन् ।’

जीवनमा सबैभन्दा ठुलो दान भनेको रक्तदान रहेको बताउँदै मेयर राईले टेन्ट व्यवसायी समाजले गरेको रक्तदान कार्यक्रम अत्यन्तै सराहनीय कार्य भएको बताए ।