धरान : कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढेको भन्दै सिसिएमसीले आइतबार गरेको सिफारिसलाई गृह मन्त्रालयले पनि स्वीकृत गरेको छ। कोरोनाको नयाँ भेरिअन्ट ओमिक्रोन फैलिँदै गएको भन्दै सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने गृहले निर्णय गरी परिपत्र जारी गरेको छ ।

निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी प्रधान कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र मातहतका विभाग तथा निकायहरूलाई पत्राचार गरेको छ । कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले आइतबार गरेका सिफारिसहरू कार्यान्वयन गर्न गृहले निर्देशन दिएको हो ।

गृह मन्त्रालयले सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक, तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यही प्रकृतिको कार्यक्रम नगर्न भनेको छ । गृहले सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरू आयोजना नगर्न नगराउन आवश्यक व्यवस्था गर्न भनेको छ ।

यस्तै, सार्वजनिक स्थानहरू कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य रूपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड साथमा राख्ने र ती निकायहरूले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउन निर्देशन जारी गरेको छ । मन्त्रालयले माघ ७ गतेदेखि उक्त व्यवस्था लागू गर्न भनेको छ ।

Griha-nirnaya Griha-nirnaya-1