विराटनगर : मोरङको लेटाङमा ६० वर्षीय वृद्धको हत्या भएको छ।

हत्यामा संलग्न भएको आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ परेका छन् । प्रहरीका अनुसार मोरङको लेटाङ नगरपालिका-२ फडानीमा अन्दाजी ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या भएको हो । उनको हत्या आरोपमा प्रहरीले ८१ वर्षीय वृद्ध डम्बरबहादुर भुजेल पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बुढाथोकी पक्राउ परेका भुजेलको घरमा पाहुना आएका थिए । सोमबार बेलुका भुजेलको आँगन अगाडि बुढाथोकीको शव भेटिएको सूचना पाएपछि प्रहरी पुगेको थियो । प्रहरीका अनुसार मृतकको टाउकोमा बन्चरोले प्रहार गरेजस्तो देखिन्छ ।

वृद्धले शव घिसारेर घर नजिकैको बासघारी तर्फ लैजाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीय शिक्षक राजेन्द्र खतिवडाका छिमेकीले शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् । उनका अनुसार केही दिनयता मृतक बुढाथोकी भुजेलको घरमा बस्दै आएका थिए । बुढाथोकीको घर लेटाङमै भए पनि आफ्नो घरमा भने नबस्ने गरेको स्थानीयले बताएका छन् ।

सोमबार बेलुका मृतक र हत्या आरोपी वृद्धसँगै मदिरा सेवन गरेको स्थानीयले बताएका छन् । मदिरा सेवनपछिको विवादका कारण हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले हत्याको अनुसन्धान भइरहेको बताए । पक्राउ परेका भुजेललाई इलाका प्रहरी कार्यालय लेटाङमा राखिएको छ । मृतकको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको प्रहरीले बताएको छ ।