झापा : पूर्वकै चर्चित कनकाई माइबेनी मेला यस वर्ष नलाग्ने भएको छ ।

कोभिड-१९ को संक्रमणदरलाई मध्यनजर गर्दै माइबेनी मेला स्थगित गरिएको हो । झापाको कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाका प्रमुख र प्रतिनिधिहरू तथा प्रहरी प्रमुखहरूको बैठकबाट परम्परादेखि कनकाई नदीको दुवै किनारामा लाग्दै आएको कनकाई माईवेनी मेला नलगाउने निर्णय गरिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए ।

यसअघि पुस २८ गतेदेखि माघ २ गतेसम्म कनकाई माईको दुवै किनारामा मेला लगाउनका लागि टेन्डर आव्हान गरिएको थियो । सीसीएमसीको बैठकको निर्णयपछि नगरपालिकाले समेत मेला ठेक्काको सबै निर्णय फिर्ता गरी सम्बन्धित ठेकेदारहरूको रकम फिर्ता दिने निर्णय भएको बताइएको छ ।

कनकाई माइबेनी मेला भर्न र मकर स्नान गर्न नेपाल तथा भारतबाट समेत ठुलो सङ्ख्यामा भक्तजनहरू आउने गरेका थिए ।