धरान : सुनसरीको बर्जू गाउँपालिका-५ तिनमुहानबाट गाँजा सहित ३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतको कटहरिया-१० का २६ वर्षीय मिठु राय, पुर्णिया सर्सीका १८ वर्षीय पङ्कज महलदार र कटहरिया–१९ का ५० वर्षीय जितेन्द्र राय रहेका छन् ।

केही व्यक्तिहरूले गाँजाको ओसार पसार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले शनिवार राती पौने ९ बजे उनीहरूलाई १०० केजी गाँजा सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।

मोरङको रतुवामाई नगरपालिका-९ भौडाबाट अवैध औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुनबर्शी नगरपालिका-६ का ३२ वर्षीय श्रवणकुमार ताजपुरीया र सुनबर्शी-७ का ३० वर्षीय कार्तिक चन्द दास रहेका छन् ।

विशेष सूचनाको धारमा आज बिहान साँढे ९ बजे प्रहरी चौकी टहराबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०२-०४६ प ७८६९ नम्बरको मोटरसाइकलमा सवार निजहरूलाई चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट अवैध औषधी TRAMODOL  HYDROCHLORIDE CAPSULE २०,००० ( बिस हजार) ट्याब्लेट बरामद गरेको हो ।

अवैध औषधी सहित पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानको लागी औषधी व्यवस्था विभाग विराटनगर पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।