विराटनगर : प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सीमित बजेटबाट कोभिडविरुद्ध लड्दै आएको प्रदेश सरकारलाई सङ्घीय सरकारले बल प्रदान गर्नुपर्ने बताएका छन् ।
सङ्घीय सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाको उपस्थितिमा आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विराटनगरमा भएको कार्यक्रममा मुख्यमन्त्री राईले सङ्घीय सरकार समेतको सहयोगमा कोरोनाविरुद्ध प्रभावकारी कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकार तयार रहेको बताए ।
उनले कोभिडको तेस्रो झम्टाइलाई प्रदेश सरकार अत्यन्त सुझबुझका साथ सामना गर्ने पक्षमा रहेको बताए । आर्थिक गतिविधि समेतलाई क्रियाशील राखी कोभिडको तेस्रो लहरलाई सामना गर्नुपर्ने मुख्यमन्त्री राईको धारणा थियो ।
सो अवसरमा बोल्दै सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले मानिसको जीवन निष्क्रिय नबनाई कोभिडविरुद्ध लड्ने बताए । उनले अहिलेको अवस्थामा सकेसम्म भिडभाड नगर्न अपिल गर्दै भिडभाड हुने स्थानलाई व्यवस्थित गर्ने योजनाका साथ सरकार प्रस्तुत हुने बताए ।
उनले कोभिडविरुद्धको खोपको पर्याप्त मौज्दात रहेको र ११ वर्षमुनिका बालबालिकालाई पनि खोप लगाउने तयारीमा सरकार रहेको प्रस्ट पारे । विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता पाएपछि बालबालिकालाई पनि खोप लगाउने गरी सरकारले खोप उत्पादक कम्पनीसँग सहमति गरिसकेको मन्त्री खतिवडाले बताए ।
प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जयराम यादवले प्रदेश नं. १ का जनसङ्ख्या कम भएका पहाडी र हिमाली जिल्लामा खोप लगाउने प्रतिशत राम्रो भएको जानकारी दिए । तराईकै जिल्लामा खोप लगाउनेको सङ्ख्या कम भएकोमा अब प्रभावकारी योजना मार्फत खोप लगाउने लक्ष्य पूरा गरिने बताए ।
यसैबिच सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले प्रदेश नं. १ मा कोभिड १९ वर्तमान अवस्थाका बारे जानकारी दिएका थिए । उनका अनुसार माघ १ गतेसम्म प्रदेश नं. १ मा सङ्क्रमितको सङ्ख्या एक लाख ५४ हजार एक सय ६१ पुगेको छ ।
प्रदेशमा ६ लाख ६७ हजारले पीसीआर र एन्टिजेन परीक्षण गराएका छन् । अहिले प्रदेश नं. १ मा सक्रिय सङ्क्रमित सङ्ख्या एक हजार तीन सय ९७ छ । कोभिडका कारण प्रदेश नं. १ मा दुई हजार एक सय ९६ जनाको मृत्यु भएको छ । प्रदेश नं.१ मा विभिन्न खोप गरी पहिलो डोज लगाउनेको सङ्ख्या २६ लाख र दोस्रो डोज सहित पूर्ण खोप लगाउनेको सङ्ख्या १७ लाख ५० हजार छ ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, प्रदेश नं.१ का प्रमुख सचिव डा. रामप्रसाद घिमिरे, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव सहित सुरक्षा निकायका प्रमुखहरू, स्वास्थ्य सेवा क्षेत्रका प्रमुखहरू, प्रदेश स्तरीय मन्त्रालयका सचिवहरूको उपस्थिति थियो ।