विराटनगर : प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन १ नम्बर प्रदेश समितिले आज विभिन्न माग राखी प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापन पत्र बुझाएको छ ।

सङ्गठनका प्रदेश अध्यक्ष कमलप्रसाद तिम्सिना, केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज हिक्मतबहादुर बस्नेत सहितको टोलीले १३ सूत्रीय माग राखी ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा प्रदेश नं. १ को शिक्षा ऐनसँगै नियमावली तुरुन्त जारी गर्नुपर्ने माग गरिएको छ । विद्यालयमा पढ्ने बालबालिकालाई खोपको सुनिश्चित गर्नुपर्ने र स्वास्थ्यको मापदण्ड अपनाइ विद्यालय सञ्चालन गर्ने वातावरण तयार गर्न ज्ञापन पत्रमा माग गरिएको छ ।

प्रदेशमा न्यूनतम बेतनमा कार्यरत बाल विकास शिक्षक, विद्यालय कर्मचारीहरूको समस्या समाधानका लागि विद्यालयमा दरबन्दी कायम गरी स्थायित्वको प्रबन्ध गर्न पनि माग गरिएको छ । उमेरको हद नाघेका राहत शिक्षकलाई शिक्षा सेवा आयोगको परीक्षामा सहभागी गराउनुपर्ने पनि माग गरिएको छ।

ज्ञापन पत्रमा शिक्षा सेवा मर्यादित बनाउन कर्मचारीको भन्दा शिक्षकको तलब १० प्रतिशत बढी हुनुपर्ने, प्रदेश १ को कुल बजेटको २० प्रतिशत रकम शिक्षा क्षेत्रमा खर्चनुपर्ने लगायतका माग उल्लेख छ ।