धरान : सुनसरीको वराहक्षेत्र नगरपालिका-१० प्रकाशपुर र वराहक्षेत्र–७ बाङ्गेबाट लागु औषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउँसो प्रहरी चौकी प्रकाशपुरबाट खटिएको गस्ती टोलीले चेकजाँचको क्रममा वराहक्षेत्र–१० का २१ वर्षीय मीन बहादुर राईको साथबाट स्पाईसनो -९६ ट्याब्लेट, नाइट्रोजन–-५० ट्याब्लेट र डाईजोपाम १६ थान सहित पक्राउ गरेको हो भने प्रहरी चौकी बाङ्गेबाट खटिएको गस्ती टोलीले वराहक्षेत्र-७ बाङ्गेका २३ वर्षीय अनीश बिस्टलाई एसपी ९ ट्याब्लेट, एमभल्ब १२७ थान सहित पक्राउ गरेको छ ।

लागु औषध सहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको छ ।

यसै गरी मोरङको रतुवामाई नगरपालिका-९ बाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका-३ का ३६ वर्षीय तारानिधि गुरागाईँ र ३५ वर्षीय विदेश लिम्बु रहेका छन् । प्रहरी चौकी इटहराबाट खटिएको गस्ती टोलीले शङ्का लागि मे.२ प ४८०४ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकल पछाडि सवार रहेका लिम्बुको साथबाट नाईटाभेट-४६ पत्ता (६९० चक्की) फेला पारेको थियो ।

प्रतिबन्धित लागुऔषध नाईटाभेट सहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।