धरान : इलाका प्रहरी कार्यालय पशुपतिनगर इलाममा कार्यरत प्रहरी निरीक्षक देउ प्रसाद लिम्बु र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरमा कार्यरत प्रहरी जवान नर बहादुर कार्की पौष महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याउने प्रहरीलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिँदै आएको छ ।

सर्वोत्कृष्ट प्रहरीदोयले २० बर्ष अगाडी कर्तव्य गरी ज्यान मारेको तत्काल अभियुक्त नखुलेको कर्तव्य ज्यान मुद्दामा संकित व्यक्तिलाई निगरानीमा राखी प्रतिवादीको पहिचान गरी थप प्रमाणहरू जुटाई पक्राउ गर्न सफल भएको र अनुमति प्राप्त नभएको डुङ्गा सञ्चालन गरी क्षमता भन्दा बढी यात्रु हालेर लापरबाही गरी सप्तकोसी नदिमा डुङ्गा चलाएको कारण दुर्घटना भई डुङ्गा पल्टिदा १२/१५ जना मानिस बेपत्ता पारेको ज्यान सम्बन्धी कसुर मुद्दामा वारदात पश्चात् ८ बर्ष सम्म फरार रहेका प्रतिवादीहरूलाई पक्राउ तथा कानुनी कारबाहीको दायरामा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै आम नागरिकहरूमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले इलाका प्रहरी कार्यालय पशुपतिनगर, इलाम दरबन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक देउ प्रसाद लिम्बु र इलाका प्रहरी कार्यालय वाना, सङ्खुवासभा दरबन्दी भई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरमा कार्यरत प्रहरी जवान नर बहादुर कार्कीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको जनाइएको छ ।

प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङ्कन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरू मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरण सहितको फ्लेक्स प्रिन्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय “क“ स्तरसम्मका प्रहरी कार्यालयहरूमा १ महिना सम्म राखिँदै आएको छ ।