बिर्तामोड / झापाको मेचीनगर-६ काँकडभिट्टास्थित बर्मेली टोलमा रहेको एसएस जुत्ता उद्योगमा आगलागी भएको छ।  श्याम ताङले सञ्चालन गरेको उक्त जुत्ता फ्याक्ट्रीमा बिहीबार बिहान करिब पौने १२ बजे देखि आगलागी सुरु भएको हो।

आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा प्रहरी टोली खटिएको छ । बिर्तामोड र भद्रपुर नगरपालिकाबाट गएका वारुणयन्त्रले आगो निभाउन सघाइरहेका छन् ।

आगलागीको कारण नखुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी बसन्त पाठकले बताए । आगलागी सुरु भएको ४५ मिनेटपछि मात्रै घटनास्थलमा बारुणयन्त्र पुगेका छन् । छेउमा रहेको मेचीनगर नगरपालिकाको बारुणयन्त्र बिग्रिएकाले अरु स्थानीय तहको बारुणयन्त्रमा भर पर्नु परेको छ ।