धरान : धरान उपमहानगरपालिकामा नेकपा एमालेको विरासत फर्काउने उपमेयर मञ्जु भण्डारीले बताएकी छिन ।

नेकपा एमाले सुनसरी जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेले धरान उपमहानगरपालिकामा पुनः आफ्नो विरासत फिर्ता ल्याउने बताइन ।

एमालेबाट निर्वाचित मेयर तारा सुब्बाको निधन पछि भएको पुनः निर्वाचनमा काँग्रेसका उम्मेदवार तिलक राई विजयी भए । केन्द्रीय सदस्य समेत रहेकी भण्डारीले प्राविधिक कारण एमाले पराजित हुँदा  देशैभर चर्चा भएको प्रष्ट पारिन।

माओवादी लगायत विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेका कार्यकर्तालाई स्वागत गर्दै उनले एमालेमा विजयको लहर देखिएको सुनाइन् । कम्युनिस्ट पार्टी भनेको एमाले मात्र भएको प्रष्ट भएको भन्दै भण्डारीले धरान सहित एमालेले बहुमत पालिकामा विजय हासिल गर्ने विश्वास व्यक्त गरिन ।

राष्ट्रियता र सामाजिक सुरक्षाको सवालमा एमालेको अडानले जनतामा आशा जगाएको उनले बताइन् ।