विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४४ जनामा कोरोना सङ्क्रमण भएको छ । २२२ जनाको पीसीआर परीक्षण गर्दा ६२ र ३७७ जनाको एन्टिजेन परीक्षण गर्दा ८२ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २३, सुनसरीमा २१, धनकुटामा ७, झापामा ६, उदयपुरमा २, तेह्रथुममा १ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा १८, जहदा, ग्रामथान, लेटाङ, बेलबारी र स्थानीय तह नखुलेका १-१, सुनसरीको धरानमा १७, इटहरीमा ४, धनकुटाको धनकुटा नगरपालिकामा ४, पाख्रिबासमा १ र स्थानीय तह नखुलेका २, झापाको भद्रपुरमा ४, मेचीनगर र बिर्तामोडमा १-१, उदयपुरमा २, तेह्रथुममा १ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ६६२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३१४ महिला र ३४८ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ४७६ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।