धरान : धरान उपमहानगरपालिका वडा नं. १४ स्थित विजयपुरमा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन भएको छ । 

आइतबार मेयर तिलक राईले नवनिर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन गरेका हुन् । मेयर राईले धरान उपमहानगरपालिकाले विभिन्न वडाहरूमा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरेर सेवा प्रारम्भ गरिरहेको बताए ।

आधारभूत स्वास्थ्य सेवा केन्द्रमा उपमहानगरपालिकाको दक्ष स्वास्थ्यकर्मीहरुले सेवा उपलब्ध गराई रहेको मेयर राईले जानकारी दिए । स्वास्थ्य केन्द्रबाट प्राप्त हुने औषधीहरू, सेवाहरू सहिढंगबाट पुगिरहेको मेयर राईको भनाई थियो । मेयर राईले स्वास्थ्यकर्मीहरूलाई जनताको सेवा सुविधाका निम्ति दत्तचित्त भएर लाग्न आग्रह समेत गरे ।

कार्यक्रममा वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले स्वास्थ्य भएन भने सुन्दर समाजको परिकल्पना गर्न नसकिने बताए । उनले नवनिर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्र करिब २८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको जानकारी दिए । आधारभूत स्वास्थ्य सेवा केन्द्रमा ४५ किसिमको औषधीहरू निःशुल्क पाइने पनि बताए । 

कार्यक्रममा स्वास्थ्यकर्मीहरू चन्द्रकला राई र लुना अधिकारीलाई सम्मान गरिएको थियो भने वडाका स्वंयम सेविकाहरूलाई पनि सम्मान गरिएको थियो । यस्तै, वडाका टोल विकास संस्था र पिण्डेश्वर बाबा धाम समितिलाई पनि कदर पत्र प्रदान गरिएको छ ।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर राई, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले सम्मान पत्र प्रदान गरेका थिए । 

Adharbhut-suwathya-kendra-1