धरान : मोरङको बेलवारी नगरपालिका-१ सिनेमा हल अगाडीबाट आइतबार बिहान हराएको कार खोजतलास गर्ने क्रममा हराएको कार र लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

आइतबार बिहान ८ बजे मोरङको बेलबारी नगरपालिका-३ का ४३ वर्षीय रिक्तमान गुरुङले बेलबारी -१  सिनेमा हल अगाडी पार्किङ गरी राखेको अवस्थामा प्रदेश ३-०१-०२५ च ९७५० नम्बरको  कार हराएको भनी इलाका प्रहरी कार्यालय बेलबारीमा हुलिया निवेदन दिएकोमा  खोजतलास गर्ने क्रममा सोही दिन दिउँसो सुन्दरहरैचा नगरपालिका-७ विश्वकर्मा मन्दिरबाट उक्त कार फेला परेको थियो ।

कार फेला परे सँगै उक्त कारमा रहेका बेलबारी नगरपालिका-३ का ३६ वर्षीय सुरज गुरुङ , केराबारी -१० का  २५ वर्षीय  तेज कुमार मगर र केराबारी-७ का  २६ वर्षीय नगेन्द्र लिम्बुलाई नियन्त्रणमा लिई उक्त कार चेकजाँच गर्ने क्रममा लागुऔषध डाइजेपाम ११ एम्पुल , एभिल ९ एम्पुल. फेनरगन १० एम्पुल , र लुपिजेसिक १० एम्पुल गरी जम्मा ४० एम्पुल बरामद भएको थियो ।

लागुऔषध सहित पक्राउ परेका उनीहरूको  थप अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।