धरान : धरानमा विभिन्न पार्टी परित्याग गरी १४ नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । 

सोमबार नेपाली काँग्रेस धरान उपमहानगर समितिले धरान-८ मा आयोजना गरेको टोल समिति गठन कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १४ जना काँग्रेस प्रवेश गरेका हुन् । राजकुमारी गजमेर, देवीका राई, सुनिता श्रेष्ठ, रविन तामाङ, स्नेह गुरुङ, समीप खड्का, प्रशान्त राई, राजीव तामाङ, बिजु भुजेल, आशिष् खान, सहनबाज खान, अनीश लिम्बु, अस्मित मगर, रेस्मा घिमिरे, देवीका राई काँग्रेसमा प्रवेश गरेका छन् ।

उनीहरूलाई मेयर तिलक राई, काँग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङ, नगर सभापति श्याम पोख्रेल, काँग्रेस सुनसरी जिल्ला सहसचिव गणेश सुब्बा लगायत नेताहरूले अबिर र खँदा लगाएर स्वागत गरेका थिए । श्याम श्रेष्ठको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरिएको काँग्रेस धरान उपमहानगर समितिले जनाएको छ । 

काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका धरान उपमहानगरपालिकाका मेयर तिलक राईले कार्यक्रममा शुभकामना दिँदै खानेपानी समस्या समाधान गर्न अहोरात्र रूपमा खटिरहेको बताए । यस वर्ष माघ महिनादेखि दिन बिराएर खानेपानी वितरण गरिरहेको मेयर राईले बताए ।

मेयर राईका अनुसार खानेपानीको पाईपलाईनमा लिकेज भएकोलाई वेल्डिङ गरेर टाल्ने कामहरू पनि निरन्तर रूपमा भइरहेको छ । मेयर राईले भने, ‘खानेपानी संस्थान र ठेकेदार मात्र हुँदा खेरी महिनौँ लाग्थ्यो बनाउनु । अहिले हाम्रो कर्मचारीहरूले रातको समयमा पनि काम गरिरहेका छन् । मेशिनरी सामग्रीहरूको मर्मत कार्य भइरहेको छ ।’ अहिले सुख्खा मौसमका कारण खानेपानीको समस्या रहे पनि दिन बिराएर खानेपानी वितरण गरिरहेको मेयर राईको भनाई थियो ।  

नगर सभापति श्याम पोख्रेलले नगर कार्यसमितिको पहिलो बैठक र वडा सभापतिहरूको संयुक्त बैठकबाट फागुन मसान्तभित्रमा सबै वार्डको सबै टोलमा टोल समिति गठन गर्ने निर्णय गरिएको जनाउँदै त्यही अनुरूप धरानका धेरै वार्डहरूमा टोल समिति गठनको प्रक्रिया अगाडी बढिरहेको बताए ।

सभापति पोख्रेलले भने, ‘१४ औँ महाधिवेशन पछि पार्टीको विधानमा टोल समिति गठन गर्ने भनेको छ । यसलाई तपाईँहरूले चुनावी टोल समिति नसम्झिनु होला । यो तपाईँको ५ वर्षे पूर्ण कार्यकालको समिति हो । यो सङ्गठन निर्माण र हाम्रो विधानतः गर्नुपर्ने टोल समिति हो ।’ कार्यक्रमका प्रमुख अतिथि समेत रहेका काँग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङले धरानमा नेपाली काँग्रेसको आवश्यकता भएर नै उपनिर्वाचनमा काँग्रेसको विजय भएको बताए ।