उदयपुर : प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले उदयपुरमा रहेका सुरक्षा निकायसँग जिल्लाको सुरक्षाका बारेमा ब्रिफिङ लिएका छन् ।

मङगलबार जिल्ला प्रशासन कार्यालय उदयपुर परिसरमा सुरक्षा निकायका प्रतिनिधिसँग भएको छलफलमा जिल्लाको सुरक्षा अवस्थाका बारेमा छलफल भएको हो । 

छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले जिल्लामा सुरक्षाको व्यवस्थापनलाई चुस्त दुरुस्त पारिएको बताए । सम्भावित आपराधिक गतिविधिलाई ख्याल गर्दै प्रहरी उच्च सतर्कतामा रहेको उनले जानकारी दिए । 

उदयपुरका प्रहरी प्रमुख सुवास चन्द्र बोहराले जिल्लामा प्रहरी भ्यानको आवश्यकता परेको बताए । 

मन्त्री कार्कीले जिल्लामा सुरक्षा कायम गर्न सरकारले आवश्यक काम गर्ने बताए । जिल्लामा रहेका प्रहरी कार्यालयको मर्मत सम्भार, नयाँ भवन निर्माणमा सरकारले आवश्यक बजेट विनियोजन गरेको बताए ।