धरान : नेपाल राष्ट्रिय मुवाँथाई सङ्घ सुनसरी जिल्ला समिति गठन भएको छ । 

आज धरानमा एक कार्यक्रमको आयोजना गरी मुवाँथाई सङ्घ सुनसरी जिल्ला समिति गठन भएको जानकारी दिइएको हो ।

सुनसरी जिल्ला समितिको अध्यक्षमा एलकन थापा मगर चयन भएका छन् । समितिको उपाध्यक्षमा अशेष राई, सचिवमा नवीन राई, सह–सचिवमा मिलन राई, कोषाध्यक्षमा सरिता मगर चयन भएका छन् । सदस्यहरूमा भने सागर सुनुवार, प्रिजम राई र जुलन कालिकोटे चयन भएका छन् ।

उक्त समितिको चयन नेपाल राष्ट्रिय मुवाँथाई सङ्घका केन्द्रीय अध्यक्ष गणेशलाल कक्षपतिको प्रमुख आतिथ्ययतामा भएको हो । चयन भएका सुनसरी जिल्ला समितिका पदाधिकारीहरूलाई केन्द्रीय अध्यक्ष कक्षपतिले खँदा लगाएर शुभकामना तथा बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रममा बोल्दै उनले मुवाँथाई राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको खेल भएता पनि ओझेलमा परेको बताए । उनले भने,“मुवाँथाई खेललाई एक उग्र खेल भन्ने गरिएकोले यसमा कमैको मात्र रुचि भएको देखिन्छ तर यस खेलमा शक्तिसँगै धैर्य भएर खेल्नुपर्ने हुन्छ ।” उनले सङ्घको मुख्य उद्देश्य नै खेललाई व्यवसायीकरण गर्नु भएको बताउँदै उक्त कार्यको सुरुवात सुनसरी जिल्लाबाट नै गर्ने बताए ।

उक्त कार्यक्रममा बोल्दै बडिबिल्डिङ फिटनेस सङ्घ सुनसरीका उपाध्यक्ष सञ्जीव वान्तावाले सङ्घलाई स्थानीय तहमा समन्वय गरेर अघि बढ्न सुझाव दिएका छन् । यसै गरी बास्केटबल प्रशिक्षक तथा पत्रकार विकास चाम्लिङ राईले सङ्घलाई शुभकामना दिँदै शिक्षा र खेलकुदलाई सँगै लैजान सकेमा खेल र खेलाडी दुवैको स्तर राम्रो बन्ने बताए ।

उनले विद्यालय क्षेत्रबाट नै अघि बढ्न र विशेष गरी प्रशिक्षक उत्पादनमा जोड दिन सुझाव दिएका छन् । त्यसै गरी नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राईले खेलको प्रचारप्रसारका साथै त्यससम्बन्धी जानकारी जनमानससम्म पुर्याउने कार्यमा महासङ्घले सधैँ साथ दिने बताए ।

मुवाँथाई के हो ?

मुवाँथाईलाई “थाई बक्सिङ” भनेर पनि भन्ने गरिन्छ । यो एक प्रकारको मार्सल आर्ट र लडाई सम्बन्धी खेल हो । जसमा मुट्ठी, कुहिनो, घुँडा र पिँडुलाको प्रयोग गरी अनुशासनभित्र रहेर खेल्ने गरिन्छ ।

यो खेल पहिलो पटक १८ औँ सताब्दिको मध्यतिर थाइल्यान्डमा खेलिएको थियो । २० औँ शताब्दीको उत्तरार्धदेखि २१ औँ शताब्दीमा आइपुग्दा मुवाँथाईले अन्तर्राष्ट्रिय रूपमा नै व्यापकता फैलाएको हो ।

विशेष गरी वास्तविक युद्धको लागि एक व्यावहारिक लडाई प्रविधिको रूपमा मुवाँथाई सुरुवात भएको भएता पनि हाल यो खेल नियम सहित अनुशासनका साथ खेल्ने गरिन्छ । मुवाँथाई थाइल्यान्डको राष्ट्रिय खेल हो ।