धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिकाको आठौँ नगर सभा सम्पन्न भएको छ । 

नगरपालिकाको सभा हलमा नगर प्रमुख पर्शुराम नेपालको अध्यक्षतामा सभा सम्पन्न भएको हो । नगर सभाले तीन वटा ऐन तथा प्रस्ताव पास गरेको छ । सभाध्यक्ष नेपालले सभामा पेस भएका एजेन्डाहरूमाथि सभा सदस्यहरूलाई बोल्ने समय दिएका थिए ।

उनीहरूले आ–आफ्नो धारणा राखे । सभामा पालिकाका जनप्रतिनिधिहरूको साँढे ४ बर्से कार्यकालको समीक्षा पनि गरिएको छ । सो अवसरमा बोल्ने वक्ताहरूले कार्यकाल उपलब्धिमूलक भएको धारणा राखेका छन् ।

कतिपय अवस्थामा बजेट अभावले सोचे अनुरुप काम गर्न नसकिएको जनप्रतिनिधिहरूले बताए । तर पनि सीमित स्रोत साधन र बजेटमा उपलब्धिमूलक काम भएको उनीहरूको भनाई छ ।

नगर सभामा सभाध्यक्ष एवं नगर प्रमुख नेपाल र उप–प्रमुख मञ्जु अधिकारीले हालसम्म नगरले गरेका मुख्य–मुख्य कामहरूको बारेमा जानकारी गराएका छन् । सभामा उप–प्रमुख अधिकारीले मन्तव्यमार्फत नगर सभाका सदस्यहरूलाई स्वागत गरेकी थिइन् ।

२०७४ सालमा तीन चरणमा स्थानीय तह निर्वाचन भएको थियो । ०७४ असार १४ गते भएको निर्वाचनबाट महालक्ष्मीमा जनप्रतिनिधिहरू निर्वाचित भएका हुन् । उनीहरूको पाँच बर्से कार्यकाल सकिन लागेको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचन घोषणा गरेकाले वर्तमान जनप्रतिनिधिहरूको यो अन्तिम नगर सभा हो ।