धरान : धरान उपमहानगरपालिकाको १० औँ नगरसभामा आगामी फागुन ३ गते सम्मलाई स्थगित भएको छ । 

निर्धारित समय भन्दा ढिलो गरी सुरु भएको नगरसभामा विधेयक, आचारसंहिता र ऐन संशोधनको प्रस्ताव पेस भएपछि स्थगित भएको हो । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडोटेरियम हलमा उद्घाटन भएको नगरसभा आगामी फागुन ३ गते हुने गरी स्थगित भएको हो । फागुन ३ गते सुनसरी उद्योग वाणिज्य सङ्घको सभा हलमा नगरसभा हुने वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए ।

उनका अनुसार नगरसभामा उपमहानगरपालिकाका पदाधिकारीहरूको आचारसंहिता २०७८, शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ र सार्वजनिक निजी साझेदारी सम्बन्धी विधेयक २०७८ नगरसभामा प्रस्तुत भएको छ । 

यसै गरी नवौँ नगरसभाले स्वीकृत गरेको आर्थिक ऐन २०७८ र विनियोजन ऐन २०७८ मा केही बुँदा संशोधन गर्न पनि प्रस्ताव पेस भएको छ । प्रस्ताव पेस भएपछि शून्य समयमा बोल्न कोही पनि इच्छुक नभएपछि नगरसभा फागुन ३ गते पुनः हुने गरी स्थगित भएको हो । 

१० औँ नगरसभा उद्घाटन समारोहका प्रमुख अतिथि एवं सङ्घीय सांसद जयकुमार राई रहेका थिए ।